दाङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू गुटको विपक्षमा भएको र पार्टीमा कुनै पनि हालतमा विभाजन नआउने बताएका छन्। शनिबार तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा नेता गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिँदै यस्तो बताएका हुन्।
'म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु,' उनले भने, 'मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन।' पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ।
उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए। उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताउँदै मुलुक समृद्धिका मार्गमा अघि बढेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।