काठमाडौं–निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सरकारले दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति नियमअनुसार नै रहेको दाबी गरेको छ।
सरकारद्वारा जारी गरिएको इजाजत पत्र तथा नियामक निकाय नेपाल नागरिक उड्डन प्राधिकरणले प्रदान गरेको हवाई सेवा अनुमति पत्र पाप्त एयरलाइन्सले आफ्नो आधार विमानस्थलमा आफैंले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्ने विश्वव्यापी अभ्यास अनुसार आफूहरुले पाएको सुविधा पनि कानुनसम्मत नै रहेको दाबी गरेको छ।
हिमालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाल नागरिक उड्डयन ऐन, नियम तथा कार्यविधिमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई मध्यनजर गरी हिमालय एयरलाइन्सले ४ वर्ष अगाडि सेल्फ ग्राउन्डह्यान्डलिङको अनुमतिका लागि निवेदन दिएको र हालै मात्र अनुमति पाएको हो।’
हिमालयले व्यावसायिक ग्राउन्डह्यान्डलिङ सुविधाभन्दा पनि आफ्नो एयरलाइन्सको सेवा मात्रै आफैंले गर्न पाउने गरी सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा पाएको दाबी गरेको छ।
तर, नियामक निकायले हिमालय एयरलाइन्सलाई असोज पहिलो साता दिएको सेल्फ ग्राउन्डह्यान्डलिङ सेवाको अनुमति अहिले स्थगित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको निर्देशनमा प्राधिकरणले तत्कालको लागि हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनको अनुमति स्थगित गरेको हो।
साथै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन अनुमतिको विषयमा सबै विवरण माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।