काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतम पार्टीमा निर्णयक अवस्थामा छन्। पार्टी विवादमा गौतम जतातिर उभिन्छन्, त्यतैको पल्ला भारी हुने गरेको छ। जसले गर्दा पार्टीले महत्त्वपूर्ण र अप्रत्याशित निर्णय लिने गरेको छ।
गौतमले अन्तिममा कित्ता परिवर्तन गरेका कारण अन्तिमसम्म उनी कहाँ उभिन्छन्, त्यो प्रतीक्षाको विषय बन्ने गरेको छ।
वैशाख २० गतेको पार्टी विवादमा गौतमले अन्तिममा लत्तो छोडेका थिए। जसले केपी ओलीलाई राहत, अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ आहत बनाएको थियो। अध्यादेशपछि उत्पन्न विवादले पार्टीभित्र ओली अप्ठ्यारोमा परेका थिए। तर उनले गौतमलाई भावी प्रधानमन्त्रीको पासा फालेका थिए। जसले गर्दा गौतमले विपक्षी समूहको साथ छाडेका थिए।
गौतमले प्रचण्ड-माधव नेपाल कित्ता परिवर्तन गरेपछि ओलीविरुद्धको मार्चाबन्दी कमजोर बनेको थियो। जसले गर्दा ओलीको राजीनामाको माग उठाएर पनि प्रचण्ड-नेपाल पक्ष पछि हटेको थियो।
पार्टी विवाद साम्य भएको दुई महिना नपुग्दै असार १० मा स्थायी कमिटी बैठक सुरु भयो। त्यसमा सुरुवातदेखि नै विवाद उत्पन्न भयो। ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको र त्यसमा पार्टीका नेताहरुले साथ दिएको आरोप लगाएपछि बैठकमै उनको राजीनामा माग भयो।
अध्यक्ष प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन भनेका थिए। तर त्यतिबेला गौतम सहित पूर्वमाओवादीकै नेताहरु रामबहादुर थापा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापा, हरिबोल गजुरेल लगायत नेताहरुले प्रचण्डको साथ छोडेका थिए। जसले गर्दा ओलीविरुद्धको मोर्चाबन्दी कमजोर बनेको थियो।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला गौतमले त ओलीलाई राहत पुग्नेगरी ६ बुँदे प्रस्ताव नै सार्वजनिक गरिदिए।
सो विवादलाई महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य विवाद समाधान कार्यदल बनाई साम्य पारिएको थियो।
स्थायी कमिटीको विवादलाई टालटुल पारिएको भए पनि अहिले पार्टी विभाजनकै आशंका हुनेगरी नयाँ विवाद सिर्जना भएका छन्। पार्टी आइसीयुबाट नर्मल बेडमा आए पनि विवाद कायमै रहेको नेताहरुको भनाइ छ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले एक कित्तामा उभिएका छन्। अर्को कित्तामा ओली सहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा मात्रै छन्। पार्टी सचिवालयका ९ जनामध्ये ५ जना प्रचण्ड पक्ष र ४ जना ओली पक्षमा छन्। यसर्थ पार्टी सचिवालयमा ओली अल्पमत छन्।
विवादकै बीच सर्वोच्च अदालतले गौतमलाई मन्त्री हुने बाटो खुलाएपछि प्रचण्ड-नेपाल पक्ष नेताहरु झस्किएका छन्। ओलीले फेरि गौतमलाई मन्त्री पदको लोभ देखाएर आफ्नो कित्तामा लैजान्छन् कि भन्ने प्रचण्ड-नेपाल पक्षका नेताहरुमा भय छ।
वामदेव कमरेडको कित्ता परिवर्तनको कुनै टुंगो नभएको प्रचण्ड-निकट एक नेताले बताए। ‘राजनीतिमा वामदेव लामो योगदान गरेको नेता हुनुहुन्छ। पार्टीको पनि सिनियर नेता हो’, ती नेताले भने, ‘तर उहाँमा बचपना देखियो। कुन बेला कुन कित्तामा पुग्नुहुन्छ, ठेगानै हुँदैन।’
तर पार्टीको पछिल्लो विवादमा उनी प्रचण्ड-नेपालसँगै रहेको नेताको दाबी छ।
यस्तै ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले वामदेव कमरेडको कित्ता परिवर्तनको आँकलन नै गर्न नसकिने बताए। पार्टी कमिटीमा अल्पमत र बहुमत हिसाबकिताबभन्दा एकताको पक्षमा उभिनुपर्ने थापाले बताए। ‘पार्टी भर्खरै एकता भएको छ। सहमतिमा विधान बमोजिम चलाउनुपर्ने छ’, थापाले भने, ‘पार्टीमा अध्यक्ष ओली वा प्रचण्डको बहुमत र अल्पमत हुनुहुन्छ भन्नेतिर लाग्नु हुँदैन।’
यसो हुँदा वामदेव कमरेड कुन कित्तामा उभिन्छन् भन्ने कुराले खासै अर्थ नराख्ने थापाको भनाइ छ। वामदेवलाई अदालतले मन्त्री हुने बाटो खोले पनि सरकारमा जाने वा नजाने यसै भन्न नसकिने बताए।
तर गौतम पक्षका मानिने केन्द्रीय सदस्य बलराम बाँस्कोटाले गौतम पद प्रतिष्ठामा नफस्ने दाबी गरे। ‘पार्टीमा उहाँ (वामदेव)ले धेरै ठूलो योगदान गर्नुभएको छ। विगतमा के कस्तो भयो त्यसको छुट्टै पाटो भयो’, उनले भने, ‘यस पटकको पार्टी विवादमा वामदेव कमरेडले कित्ता परिवर्तन गर्नुहुन्न जस्तो लाग्छ। टिम एकदम कम्प्याक्ट छ।’
प्रचण्ड-नेपाल कित्ताबाट वामदेव यताउता हुने सम्भावना नभएको बाँस्कोटाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।