काठमाडौं– विमानस्थलबाट हुने सुन तस्करीमा मुछिएका एक प्रहरीलाई राष्ट्रसंघीय शान्ति मिसनबाट फकाई प्रहरी हिरासतमा लिइएको छ। प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरलाई शान्ति मिसनबाट फिर्ता बोलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको हो।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यरत रहेका बेला एसएसपी श्याम खत्रीको निर्देशनमा सुन ओसार्ने गतिविधिमा संलग्न थिए। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले तस्करीमा उनको समेत संलग्नता औंल्याएपछि प्रतिवादी बनाउन सिफारिस गरेको थियो। सोही अनुसार उनलाई शान्ति मिसनबाट फिर्ता बोलाइएको हो।
तस्करीमा सहयोग गर्ने विमानस्थलमा कार्यरत तत्कालीन डिआइजी गोविन्द निरौलासहितका प्रहरी अधिकारीहरु पक्राउ परिसकेका छन्। एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र जवान विष्णुबहादुर खड्का पक्राउ परेका छन् भने एसएसपी खत्री फरार छन्।
त्यस्तै, सनम शाक्य हत्याको अनुसन्धानमा चरम लापरबाही गरेर मुख्य अभियुक्तलाई जोगाउने प्रयास गरेको अभियोगमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेल पनि पक्राउ परिसकेका छन्। तस्करीको साढे ३३ किलो सुन लुकाएको आशंकामा शाक्यको हत्या भएको थियो।
तस्करी र हत्या मुद्दामा संलग्न पक्राउ पर्नेको संख्या ३० पुगेको भने मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित ३३ जना फरार छन्। जिल्ला अदालत मोरङमा मुद्दाको थुनछेक बहस चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।