काठमाडौं- बहुसंख्यक पदाधिकारी पक्राउ परेपछि यातायात व्यवसायी महासंघले आज बोलाएको समीक्षक बैठक स्थगित गरेको छ। सिन्डिकेट पक्षधर व्यवसायीले शनिबार गरेको यातायात बन्दका क्रममा सरकारले ७३ जना व्यवसायी पक्राउ गरेको थियो। महासंघले भावी रणनीति तय गर्न बोलाएको बैठकमा अधिकांश पदाधिकारी उपस्थित हुन नसक्ने भएपछि बैठक प्रभावित भएको बताइएको छ।
यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको रवैयाको कारण बैठक बस्न नसकेको बताए। कर्माचार्यले पक्राउ परेका पदाधिकारी सरकारले छोडेपछि मात्रै थप आन्दोलन गर्ने/नगर्ने निर्णय गरिने बताए।
सिन्डिकेट कायम राख्न माग गर्दै हडतालमा उत्रिएका यातायात व्यवसायीहरु शनिबारदेखि सेवामा फर्किएका छन्। आज बिहानैदेखि यातायत व्यवसायीहरुले आफ्नो साआिककै रुटमा सवारी चलाउन सुरु गरेका छन्।
शुक्रबार देशभरका सार्वजनिक यातायात सञ्चालन नगरेपछि प्रहरीले देशभरबाट ७३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध मुद्दा चलाउने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।