काठमाडौं- सिन्डिकेट कायम राख्न माग गर्दै हडतालमा उत्रिएका यातायात व्यवसायीहरु ‘सेफ ल्यान्डिङ’को विकल्पमा लागेका छन्। शुक्रबार बेलुका प्रेस बिज्ञप्ती निकाल्दै उनीहरुले वार्ताबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
शनिबारदेखि उनीहरुले नियमित रुपमा गाडी चलाउने भएका छन्। आन्दोलन प्रत्युतपादक भएपछि उनीहरुले शनिबार समक्षिा बैठक बोलाएका छन्। स्रोतका अनुसार पक्राउ परेका यातायात व्यवसायी छाडे थप आन्दोलन नगर्न सर्तमा उनीहरुले सहमति खोजेका छन्।
प्रहरीले शुक्रबार देशभरीबाट ७३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध मुद्दा चलाउने सरकारको तयारी छ। यदी उनीहरुले अबदेखि यातायात क्षेत्रमा हडताल नगर्ने भनेर कागज गरेमा छाड्ने रणनीति गृह मन्त्रालयको छ।
पक्राउ परेका व्यवसायीहरु छुटाउन गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल भइरहेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। थप निर्णय गर्न शनिबार समिक्षा बैठक बोलाइएको उनको भनाई छ।
सरकारले यातायात समितिहरु खारेज गर्दै यातायात व्यवसाय गर्न कम्पनी दर्ता अनिवार्य गरेको छ। त्यस्तै देशभरी रुट परमिट खुला गरेपछि सिन्डिकेटको आधारमा यातायात व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। तर, सरकार निकै आक्रामक रुपमा प्रस्तु भएपछि उनीहरु पछि हट्ने अवस्थामा पुगेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।