काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने भएको छ। यसअघि जनकपुरमा मात्र अभिनन्दन हुने कार्यक्रम रहेकोमा परराष्ट्र मन्त्रालयले काठमाडौंमा पनि अभिनन्दन हुने कार्यक्रम रहेको शुक्रबार सार्वजनिक गरेको छ।
काठमाडौंमा पनि उनको अभिनन्दनका लागि तयारी सुरु भइसकेको छ। स्रोतका अनुसार प्रदर्शनीस्थलस्थित राष्ट्रिय सभागृहमा मोदीको अभिनन्दन हुने कार्यक्रम छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उनको अभिनन्दन हुन लागेको हो। अभिनन्दन कार्यक्रममा मोदीलाई महानगरपालिकाको साँचो समेत हस्तान्तरण गरिनेछ। सम्मानको क्रममा साँचा हस्तान्तरणको चलनअनुसार मोदीलाई साँचो दिन लागिएको हो।
अभिनन्दनका लागि सुरक्षा रणनीति बनाउन शुक्रबार बैठक बसेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अभिनन्दन कार्यक्रमको लागि सुरक्षा तयारी सुरु भइसकेको छ।
आगामी २८ गते दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदी बौद्धस्थित हायात होटलमा बस्नेछन्। उनी पटनाबाट हेलिकप्टरमा जनकपुर हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।