काठमाडौं– सिन्डिकेट कायम राख्न यातायात सेवा नै रोकेर आन्दोलन गर्ने व्यवसायीविरुद्ध सरकार थप कडा रुपमा प्रस्तुत भएको छ। अब उनीहरुले देशभरीका बसपार्कमा टिकट काउन्टर समेत राख्न नपाउने भएका छन्।
कम्पनीमा दर्ता भएका यातायात व्यवसायीहरुलाई मात्र काउन्टर राख्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ। समितिहरुले सार्वजनिक क्षेत्रमा टिकट काउन्टर राख्दै आएका थिए।
सिन्डिकेट हटाउने यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग राख्दै उनीहरुले शुक्रबार देशभरी सेवा ठप्प पारेका थिए। त्यसपछि सरकारले सबै यातयात समितिहरुको खाता रोक्का राखी उनीहरुको सम्पती समेत छानबिन गर्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार ३० वटा भन्दा धेरै माइक्रो समितिका रुट परमिट समेत खारेज भइसकेका छन्। अन्यको विवरण आउने क्रममा रहेको उनले बताए। ‘अब आन्दोलन नगर्ने कागज गरेपछि मात्र उनीहरुको परमिट खारेज हुन्छ,’महानिर्देशक भट्टराईले भने।
आन्दोलनमा उत्रिएका करिब एक सय यातायात व्यवसायीलाई शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।