पोखरा– सार्वजनिक यातायातका साधन नचलाउने गरी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई गृहमन्त्रालयले पक्राउ गर्न थालेपछि पोखराका सिन्डिकेट पक्षधर यातायात व्यवसायी जिल्ला छाडेर हिँडेको प्रहरीले जनाएको छ।
समितिमातहत रहेको यातायात सिन्डिकेट तोड्न सरकारले निर्णय गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी हडतालमा उत्रिएका हुन्। व्यवसायीहरुको आह्वानमा आज देशैभरि सार्वजनिक यातायात सञ्चालन भएका छैनन्। यातायात सञ्चालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न थालेपछि पोखराका व्यवसायी सम्पर्कमा आएका छैनन्। देशका विभिन्न जिल्लामा यातायात व्यवसायी पक्राउ परे पनि पोखरामा अहिलेसम्म कोही पक्राउ पर्न सकेका छैनन् भने सार्वजनिक यातायात पनि निर्वाध रुपमा चलेका छैनन्।
पक्राउ गर्न आदेश जारी गरेपछि व्यवसायी मोबाइल अफ गरेर भागेको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले जनाए। पक्राऊ गरेर मुद्दा चलाउने तयारी गरेका बेला जिल्लाबाट अन्यत्रै भागेको हुन सक्ने उनले जनाए।
पोखराबाट लामो तथा छोटो दूरीमा चल्ने पृथ्वीराजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस व्यवसायी समिति र विन्ध्यवासिनी बस सञ्चालक समितिले सेवा दिँदै आएका छन्।
समितिले अन्य बसलाई चल्न रोक लगाए पनि पर्यटकीय बस पोखराबाट गन्तव्य स्थानका लागि छुटेको प्रदेश प्रहरी कार्यालयका एसपी वीरेन्द्र बस्यालले जानकारी दिए। उनका अनुसार शुक्रबार मध्यान्हसम्म २२ बस, २० ट्रक र २ माइक्रो बस छुटेका छन्।
सिन्डिकेटकै पक्षमा उत्रिएको ट्याक्सी व्यवसाय समिति पोखराले पनि सेवा रोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।