काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको कार्यक्रममा आउने क्रममा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।सिन्डिकेटको पक्षमा यातायात व्यवसायीले सुरु गरेको आन्दोलनका उनले नेतृत्व गरेका छन्। गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा गाडी ग्यारेजमा थन्क्याई सर्वसाधारणलाई सास्ती दिएको भन्दै यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै देशका विभिन्न ठाउँबाट एक सयभन्दा बढी व्यवसायी पक्राउ परिसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आज देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।