इटहरी- यातायात व्यवसायीहरुले देशैभर सार्वजनिक सवारीसाधन ठप्प पारिरहँदा इटहरीबाट, धरान, विराटनगर र काँकरभिट्टाका लागि बस चलिरहेका छन्।
एरिना यातायात प्रालि नामक कम्पनीका ६ वटा बस सञ्चालन निर्वाध सञ्चालन भइरहेका छन्। विराटनगर र धरानमा एकएक वटा बस सञ्चालन भए भने काँकरभिट्टामा ४ वटा बस पठाइएको कम्पनीका सञ्चालक समीर कार्कीले बताए। 'यो हाम्रो पेसाभित्रको धर्म हो, सर्वसाधारणका लागि सेवा दिनु जरुरी छ,' उनले भने। जनताहरुले यात्रा गर्न पाउने अधिकार र हाम्रो व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको रक्षा गर्न बस चलाइएको उनले बताए।
ती बस सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सञ्चालनमा आएका हुन्। यात्रा गर्ने सम्पूर्ण यात्रु सुरक्षित हुनेमा विश्वस्त रहन सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले आग्रह गरे। 'यात्रुको सुरक्षाको ग्यारेन्टी हामी गर्छौं,' उनले भने, 'बस नचलाउने व्यवसायी कुनै हालतमा उम्कन पाउँदैनन्। जसरी भए पनि कारबाहीको दायरामा ल्याइछाड्छौं।'
सुरक्षाकै लागि एउटा बसमा दुई जना प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले बताए।
यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आज देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्।
इटहरीमा भने आन्दोलनको प्रतिकार स्वयं यातायात व्यवसायीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।