राजविराज– यातायात व्यवसायीको बन्दका कारण सप्तरीमा पनि यात्रुको विचल्ली भएको छ। सप्तरीमा बस, ट्रक, माइक्रो, विङ्गर, टेम्पो, म्याजिक लगायतका कुनै पनि यातायातका साधन सञ्चालनमा आएका छैनन्। सदरमुकाम राजविराजलगायत फत्तेपुर, बोदेबरसाइन, कुनौली, पातो, सखडा, वनौली, मौवाहा बेल्ही लगायतका स्थानबाट चल्ने कुनै पनि यात्रु साधन सञ्चालनमा छैनन्।
सगरमाथा यातायात संघका सचिव दिनेश साहका अनुसार शुक्रबार सप्तरीमा मात्रै करिब ४ सय सवारी तथा ढुवानीका साधान बन्द भएको बताए। सगरमाथा यातायात संघ अन्तर्गतका १२३ बस, ओम साई माईक्रो व्यवसायी संघका ३२ र सप्तकोसी माइक्रो व्यवसायी संघका २२ माइक्रो बस, सगरमाथा जिप, माइक्रो तथा म्याजिक व्यवसायी संघका ८२ म्याजिक र विङ्गर, हनुनमाननगर–कञ्चन सगरमाथा टेम्पो तथा म्याजिक व्यवसायी संघका ३२ म्याजिक, सगरमाथा ट्रक तथा ढुवानी व्यवसायी संघका ८२ वटा ट्रक तथा ३० टेम्पो ग्यारेजमा थन्क्याइएको आन्दोलन परिचालन समितिका संयोजक इन्द्रसागर गुप्ताले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले पनि सप्तरीमा सवारीसाधन ठप्प भएको जनाएको छ। फाट्टफुट्टबाहेक पूर्वपश्चिम राजमार्गमा पनि सवारीका साधन सञ्चालनमा नआएको कार्यालयले जनाएको छ।
यातायात समिति खारेज गर्ने र देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै यातायता व्यवसायीले आज देशभर सवारीसधान नचलाएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्।
सरकारले गत सातामात्र यातायात क्षेत्रमा हडताल तथा आन्दोलन गर्न नपाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।