बैतडी– भ्रष्टाचारमुक्त र जनतामुखी गाउँपालिका बनाउने उद्देश्यले बैतडीको दोगडा केदार गाउँपालिकाले कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरेको छ।
कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई दिइने सेवा छिटो–छरितो प्रदान गर्ने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको दोगडा केदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा र कर्मचारीका गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको उनले बताए।
गाउँपालिकाका विभिन्न शाखा तथा फाँटमा गरी ८ वटा क्यामेरा जडान गरिएको छ। सिसीटिभी क्यामरा जडानले कार्यालयको सुरक्षा र कर्मचारी लापर्बाही नियन्त्रणमा आउने गाउँपालिकाको अपेक्षा छ। क्यामेराका गतिविधिका आधारमा सेवाग्राहीले सहजरूपमा सेवा पाए नपाएको सबै हेर्ने र त्यसका आधारमा सेवालाई सहज बनाउन कर्मचारीलाई निर्देशन दिने अध्यक्ष कार्कीको भनाइ छ।
क्यामेरा जडानले कामप्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदाही बनाउनुका साथै यसबाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता हुने विश्वास गरिएको छ।
इ–हाजिरीको सुरुवात
कर्मचारी तथा जनप्रतिनिधिलाई समयको पालना गराउनका लागि र उपस्थिति पारदर्शी बनाउन दोगडाकेदार गाउँपालिकाले पहिलोपटक इ–हाजिरी अर्थात् इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ।
अनुशासन र समयको पालना गराउन साथै मर्यादित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि इ–हाजिरीको व्यवस्था गरिएको दोगडा केदार गाउँपालिकाका अध्यक्ष कार्कीले जानकारी दिए। इ–हाजिरी प्रयोगमा ल्याइसकेपश्चात् कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समयअगावै घर जाने कर्मचारी निरुत्साहित हुने बताइएको छ।
रजिष्टरको हाजिरी हुुँदा कर्मचारी केहि समय फुुर्सद हुुँदा कार्यालयबाट निस्की हाल्ने प्रवृृत्तिको अन्त्य भएको र कर्मचारी कामप्रति बफादार भएर काम गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।