काठमाडौं– मिर्गौला प्रत्यारोपण गराइदिने भन्दै ठगी गरेको आरोपमा एक नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सप्तरीको बरही बेलपुर– ६ स्थायी घर भएका पंकजकुमार झालाई पक्राउ गरेको हो।
उनले भारतका ठूला अस्पतालमा लगेर मिर्गौला प्रत्यारोपण गरिदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। एक जनासँग ५ लाख तथा अर्का बिरामीसँग ४ लाख रुपैयाँ लिएर ठगेका थिए। सिआइबीका डिएसपी कबित कटवालका अनुसार भारत जान भन्दै विमानस्थलमा बोलाउने र मोबाइल स्विच अफ गरेर बेपत्ता हुने गरेका थिए। भारत जान भनेर बिरामी परिवारसहित विमानस्थलमा पुगेकोमा अलपत्र भएर फर्कने गरेका थिए।
केही महिनायता फरार रहेका झालाई झापामा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। झाले बिरामीलाई आफू नेसनल किड्नी अस्पतालको निर्देशक हुँ भनेर समेत झुक्याएका थिए।
प्रहरीका अनुसार, करिब १० वर्षअघि नेपालमा पक्राउ परेका डा अमित कुमार आफ्नो साथी भएको भन्दै उनले विश्वासमा पारेर पैसा असुल्ने गर्थे। डा अमित कुमार मिर्गौला खरिद-बिक्री तथा अवैध प्रत्यारोपणको आरोपमा चितवनमा पक्राउ परेका थिए।
उनले केही व्यक्तिलाई भारतमा लगेर गैरकानुनी रुपमा मिगौला प्रत्यारोपण समेत गरेको खुलेको छ। पछिल्लो समय भने उनी ठगीमा संलग्न रहेको सिआइबीले जनाएको छ।
झा विरुद्ध ठगी मुद्दामा सिआइबीले कारबाही अगाडि बढाएको छ। उनले धेरै बिरामीलाई ठगी गरेको हुनसक्ने प्रहरीको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।