धनगढी- प्रदेश ७ को पहिलो संसद् अधिवेशन बिहीबार अन्त्य भएको छ। नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम प्रदेश ७ प्रदेशसभाको अधिवेशन प्रदेश मन्त्रीको सिफारिसमा अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले प्रदेश कार्यालयले पठाएको पत्र पढेर अन्त्य भएको घोषणा गरे।
बुधबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मोहनराज मल्ललाई संसद अधिवेशन अन्त्यका लागि पत्राचार गरेको थियो। पहिलो अधिवेशनको अन्त्य भएको घोषणा गर्दै सभामुख थापाले सभाको मर्यादा कायम राखी अनुशासित भई बैठक सञ्चालनमा सहयोग गरेका सबै सदस्यलाई धन्यवाद व्यक्त गरे।
प्रदेश ७ मा पहिलो प्रदेशसभा बैठक माघ २१ गते बसेको थियो। सभामुख अर्जुनबहादुर थापाका अनुसार ३ महिनामा २१ पटक बैठक बसेको छ। कुल २२ घन्टा ५० मिनेट बसेको संसद सचिवालयले जनाएको छ। उनका अनुसार प्रदेशसभा नियमावली पारित, प्रदेशसभा नियमावली अन्तर्गतका विषयगत समिति गठन, प्रदेशको लागो निर्धारण, प्रदेशको आर्थिक कार्यविधि पारित, सरकारको तर्फबाट नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्ललाई धन्यवाद प्रस्ताव पारित, चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि अल्पकालीन बजेट र बिनियोजन विधेयक पारित, प्रदेशसभा सदस्यको मर्यादाक्रम १४ बाट ९औं नम्बरमा कायम राख्नका लागि दर्ता गरिएको सकल्प प्रस्ताव पारित लगायतका क्रियाकलाप २१ औं बैठकसम्म भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।