काठमाडौं– दसैंले छपक्कै छोपिसकेको छ। कोरोना महामारीको त्रासबीच पनि हुने खानेहरुको चहलपहल बजारमा बढ्न थालेको छ। तर हुँदा खानेहरु त्रासँगै महंगी र अभावको चेपुवामा परेका छन्।
सामान्य अवस्थामा नै काम पाउन मुस्किल पर्ने श्रम बजारमा अहिले झनै कामको खडेरी परेको छ। काम नहुँदा दुई छाक टार्नै मुस्किल पर्नेहरुलाई दसैंको के हर्ष?
‘भारी बोकेर खान्छुभन्दा पनि काम पाइँदैन। अहिले त एकदमै गाह्रो छ। भारी बोकेर भात खान त सकेको छैन। दसैं त कसरी मनाउनु?’, कालिमाटी तरकारी बजारमा भेटिएका धनुषाका सुवास मगर भन्छन्।
उनले कालीमाटी तरकारी बजारमा गेटभित्रै एउटा भारी बोकेको २० रुपैयाँ पाउँछन्। गेट बाहिरसम्म भारी पुर्याउनु पर्यो भने ठाउँ हेरेर ३० देखि ५० रुपैयाँसम्म लिन्छन्। दिनभरी कुर्दा २ सय कमाउन पनि मुस्किल पर्छ।
एक छाक खान झण्डै २ सय खर्चिनुपर्छ। त्यसैले उनी कहिलेकाँही दिउँसो अबेला रोटी खान्छन् र दुई छाकको भोक टार्छन्। परिवार धनुषामै छ। दसैं मनाउन घर जानका लागि उनीसँग पैसा छैन।
‘दसैं त के हो कसो हो केही थाहा छैन । काम भइदिए पेट भरी खान सकिन्थ्यो,’ उनी सुनाउँछन् ।
नयाँ बसपार्क परिसरमा सरसफाइको काम गरेर गुजारा गर्दै आएकी रामेछापकी दुर्गा नेपालीलाई पनि यस वर्षको दसैं दसैंजस्तो लागेको छैन ।
‘तलब बढेको छैन। महंगी अघिल्लो वर्षभन्दा दोब्बर भइसक्यो। खै दसैं मनाउने कि छाक टार्ने,’ उनको दुखेसो छ।
दुर्गा दैनिक ८ घण्टा काममा खट्दा पारिश्रमिक भने सरकारले तोकेको न्यूनतम १३ हजार ४ सय ५० पाउँछिन्।
त्यो तलब आधाजति त गाडी भाडा र खाजामा सकिन्छ। स्वयम्भूदेखि कामका लागि बसपार्क पुग्ने उनको आउनेजाने बस भाडा दैनिक ५० रुपैयाँका दरले १५ सय तिर्नुपर्छ। सामान्य खाजा खाँदा पनि दैनिक १०० पर्छ। खाजामा ३ हजार र गाडीभाडा जोड्दा ४५ सय त उनको त्यसमै सकिन्छ। अब बाँकी रह्यो ८ हजार ९ सय ५०। त्यो रकमबाट मासिक ५ हजार कोठाभाडा बुझाउनुपर्छ। उनले महिनाभरी काम गरेको पैसाले आफ्नै पेट पनि ढुक्कले भर्न सक्ने अवस्था छैन।
एकातिर कम ज्यालादरमा काम गर्न बाध्य मजदुर त्यसमाथि लामो समयसम्म बेरोजगारी समस्याले थलिएका अधिकांशलाई उठ्न निकै मुस्किल परेको छ। त्यसमाथि यही बीचमा परेको दसैंले थप पिरोलेको छ।
‘सधैँ मनाउँदै आएको दसैं छोराछोरी रहर गर्छन्। दसैं मनाउने जमघट रमाइलो गर्ने बेला त छैन। तर घरै बसेर मीठो मसिनो खाऊँ भन्न पनि छैन’, उनले भनिन्।
नेपालमा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई सामान्य अवस्थामा पनि छाक टार्न धौधौ नै हुन्छ। त्यसमाथि कोरोना महामारीका कारण ६/७ महिना काम ठप्प हुँदा ऋण र सापटी लिएर छाक टारेका मजदुरहरु त्यो पैसा कसरी तिर्ने भन्ने चिन्तामा छन्।
यो वर्ष दसैंको रौनकभन्दा पनि उधारो सामान ल्याएको पसलको साहुलाई पैसा कसरी तिर्ने भन्ने चिन्ता थपिएको ज्यामी काम गरेर गुजारा चलाउँदै आएका गंगा माझी बताउँछन्।
‘दसैंको समयमा अब काम पनि कति दिन हुँदैन। खल्तीमा सुक्को छैन। आम्दानीको बाटो पनि छैन। पसलमा पहिलेकै उधारो तिर्न बाँकी छ। दसैं कसरी पो मनाउने’, उनी भन्छन्।
यस अघिका दसैंहरुमा वर्षभरी दुःख गरेर पैसा जम्मा गर्थे र मीठो खान भए पनि पुग्थ्यो। छोराछोरीलाई नयाँ लुगाफाटो जोर्न पनि सोच्न सक्थे। तर यो वर्ष एकातिर कोरोना महामारीको त्रास अर्कोतिर महंगी र अभावका कारण उनी दसैं मनाउन सक्ने अवस्थामा छैनन्।
कोरोना महामारीका कारण दैनिक ज्यालादारी गरेर गुजारा गर्ने तथा निम्न आयस्तर भएका मजदुरहरु मारमा परेका छन्। अधिकांशको रोजगारी गुमेको अवस्था छ। कतिपय श्रमिकहरु लामो समयदेखि बेतलबी बिदामा समेत छन्। काम पाइराखेकाहरुले पनि आधा पारिश्रमिकमा काम गर्नु परेको अवस्था छ।
तर कुन क्षेत्रका कति मजदुरको रोजिरोटी गुम्यो। कति श्रमिकहरु बेतलबी बिदामा राखिएका छन् वा आधा पारिश्रमिकमा काम गर्न बाध्यको संख्या कति छ भन्ने तथ्यांक न त सरकारसँग छ, न त कुनै निजी संघसंस्थाहरुसँग नै।
कोरोना महामारीका कारण श्रम बजार महिनौं थलिँदा अधिकांश असंगठित क्षेत्र तथा निम्नआयस्तर भएका मजदुरहरु मारमा परेका छन्। कतिपयको त महिनौंदेखि चुलो बलेको छैन। पेट भर्नकै लागि कसले खाना बाँड्छ भनेर बस्नुपर्ने अधिकांश मजदुरको मजबुरी बनेको छ। महामारीका कारण रोजिरोटी खोसिएका श्रमिकहरुका लागि सरकारले उचित राहत प्याकेज ल्याउन नसक्दा पेट भर्नकै लागि अरुको भर पर्नुपर्ने तथा ऋण काड्न बाध्य हुनु परेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।