रुझेको झुम्रोमा राखिएका फर्सीका बिँया टुसाएजस्तै
भर्खर मेरो छातीमा लडिबुडी खेल्न आतुर
मेरा नाबालक बिम्ब र प्रतीकलाई
'पाठकसँग परिचय गराइदिन्छु' भनी
कहाँ लगेर हत्या गरिदियौ ए कवि?
लुकामारी खेलिरहेका अक्षरहरूलाई
'धेरै साथीहरूसँग मिलाइदिन्छु' भनी
किन दाम्लोले बाँधेर
'शब्द' नामकरण गरिदियौ
किन निलम्बनमा पारिदियौ उनीहरूको पहिचान?
अबोध थिए मेरा बच्चाहरू
नाबालक थिए उनीहरू
श्लील र अश्लील बुझ्न सक्ने भएकै थिएनन्
एक चक्लेटमा सजिलैसँग आफ्ना बनिहाल्थे तिनीहरू
बिना पारिश्रमिक
आफ्ना कुण्ठा र नारा ओकेल्ने काममा किन लगायौ
मेरा बच्चाहरूलाई?
तिमीलाई थाहा छ नि 'बालश्रम अपराध हो!?'
तिमीले बालश्रमको कवितामै किन हत्या गरिदियौ
मेरा बालकहरूको?
समानता र समताको तमसुक ल्याएर
कहिले दारी पालेर
कहिले सारी लगाएर
किन हिसाबकिताब मागिरहेछौ मसँग?
तिमी हत्या र बलात्कारको समाचार पढिनसक्दै
कवितामा नयाँ प्रयोग सोच्न सुरु गरिहाल्छौ
तिमीले सदियौँदेखि गर्दै आएको 'बलात्कार'
र, मेरा 'सन्ततिहरूको हत्या'को समाचार
कसले लेखिदिन्छ?
के हुन्छ होला कवि
पाठकको अदालतले तिमीलाई
आजीवन कारवास सुनाइदिए
तिम्रो कलमले राजनीति सहन नसकी
आत्मसमर्पण गरिदिए,
कुनै दिन राष्ट्रिय दैनिकमा मेरो (कविताको)
मृत्युको समाचार छापिए?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।