काठमाडौं- भारतले विगतमा नाकाबन्दीजस्तो अमानवीय अस्त्र प्रयोग गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा जनकपुरमा नागरिक अभिनन्दन गरिनु हुँदैन भन्ने आवाज उठिरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले भने नागरिक अभिनन्दनका लागि तयारी तीव्र बनाएको छ।
वैशाख २८ मा भारत बिहारको पटना हुँदै जनकपुर उत्रिने भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा नागरिक अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको जनकपुरधाम उपमहानगरपलिकाका मेयर लालकिशोर साहले जनाए।
नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'मोदीजीको जनकपुर भ्रमणबारे मुख्यमन्त्री लालबाबु राउतसँग आजै छलफल भएको छ। हामीले उहाँको भ्रमणलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा तयारी गरिरहेका छौं।' साहले जानकी मन्दिरमा पूजाआजाको व्यवस्था कसरी मिलाउने, अभिनन्दनलाई कसरी सुव्यवस्थित गर्ने, आवत-जावतको व्यवस्था र सुरक्षा सम्बन्धी विषयमा योजना र तयारी भइरहेको जनाएका छन्।
मोदीको नागरिक अभिनन्दनको विषयमा विरोध भइरहेको छ नि भन्ने विषयमा उनले भने, 'मोदीजीको अभिनन्दन जनकपुरले मात्र गर्न लागेको होइन, यो संघीय सरकारकै कार्यक्रम अनुसार हो। यसमा विरोध गर्नुपर्ने जरुरी छैन।'
उनले मोदीको अभिनन्दनस्थल रंगभूमि १२ बिघामा भइरहेको तयारीबारे मुख्यमन्त्री राउतसहित अवलोकन गरिएको जनाए। त्यसैगरी, जनकपुरधाममा सरसफाइ अभियानसमेत चलाइएको उनले जानकारी दिए।
उनका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर उत्रिएपछि जानकी मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम छ। औपचारिक रुपमा जानकारी नआए पनि जानकी मन्दिरमा मोदीको स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने उनले बताए। त्यसपछि १२ बिघामा आयोजित कार्यक्रममा मोदीको नागरिक अभिनन्दन गरिनेछ।
'उपमहानगरपालिकाले मोदीजीको नागरिक अभिनन्दन गर्ने हो। उहाँलाई उपमहानगरपालिकाले उपहार अर्पण गर्नेछ र उपमहानगरको साँचो हस्तान्तरण गर्नेछ,' उनले भने, 'नागरिक अभिनन्दनपछि उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।'
भारतीय प्रधानमन्त्री मोदीले २८ गते जनकपुरधाममा जानकी मन्दिरको पूजा र नागरिक अभिनन्दन ग्रहणगरेपछि काठमाडौंमा राजनीतिक भेटघाटमा ब्यस्त रहनेछन्। दुई दिने नेपाल भ्रमणमा आउन लागेका मोदीले मुक्तिनाथको पनि दर्शन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।