काठमाडौं- प्रदेश दुई सभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ ।
बैठकले प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गरेको प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गरेको प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई सभाले सर्वसम्मतिबाट पारित गरेको हो।
यसैगरी प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक–२०७७ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरे। त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक–२०७६ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरे।
कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको प्रदेश सभाको बैठक आइतबारदेखि पुनः सुरु भएको हो। प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।