काठमाडौं- २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जथाभावी समाचार लेखेको तथा सामाजिक सञ्जालमार्फत् गालीबेइज्जती गरेको आरोप लागेका पत्रकार खेम भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ सरेकाे छ। सोमबारका लागि तोकिएको सुनुवाइ राेक्न भण्डारी पक्षले निवेदन दिएपछि सुनुवाई सरेको हो।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको इजलासमा पत्रकार भण्डारीविरुद्धको मुद्दामा सोमबारका लागि पेसी तोकिएको थियाे।
भण्डारीविरुद्ध निर्मला पन्तका साथीहरू बम दिदीबहिनी (रोशनी र बबिता), महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष, तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण र वकिल विनोद भट्टले गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए। बम दिदिबहिनीबाहेकले दायर गरेको गाली बेइज्जतीको मुद्दा सुनुवाई गर्न सोमबारका लागि पेसी तोकिएको थियो।
मुलुकी अपराध संहिताको दफा ३०६ मा कसैले कसैको गालीबेइज्जती गर्न नहुने उल्लेख छ। ‘अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मानसिव कारण भई लेखेर, आचरण, आकार वा चिन्ह प्रचार प्रसार गरेर वा अरु कुनै किसिमबाट कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातीलाई होच्याएमा चरित्र हत्या गरेको ठहर्छ,’ सो दफाको उपदफा (क) मा लेखिएको छ। यसरी गाली बेइजती गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
पत्रकार भण्डारीका हकमा भने सामाजिक सञ्जालमार्फत गाली बेइजती गरेको भन्दै उजुरी परेकाले थप एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। गाली बेइज्जती विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष गरी तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने प्रावधान छ।
एसपी विष्टका छोरा किरणले सामाजिक सञ्जाल र मानसखण्ड अनलाइनमार्फत् आफूविरुद्ध हुँदै नभएका कुरा लेखेर गाली बेइज्जती गरेको भन्दै पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए। विष्टले दायर गरेको मुद्दामा लेखिएको छ, ‘पत्रकार भण्डारीले फेसबुक र अनलाइनमार्फत आफूविरुद्ध गाली बेइजती गरेकाले आफ्नोे इज्जतमा धक्का पुगेको, व्यक्तिगत एंव पारिवारिक चरित्र, आचरण, नैतिकतामा असर परी मेरो सामाजिक प्रतिष्ठामा गम्भीर प्रभाव परि मेरो शैक्षिक, सामाजिक जीवनमा असर पुगेको छ।’
यो मुद्दामा अब अर्को सुनुवाईबारे अदालतले निर्णय गर्ने छ। दुई पटक पक्षका कानुन व्यवसायीले हटाउन पाउने कानुनी व्यवस्थाअनुसार हटाउनका लागि पत्रकार भण्डारीले निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।