काठमाडौं- आइतबार कलंकीबाट बरामद म्याद गुज्रिएका विभिन्न २०७ प्रकारका खाद्यान्न सामग्रीको मूल्य करिब ४ करोड रुपैयाँ बराबर रहेको देखिएको छ। कलंकीको एक ५ तले घरमा चलाइएको यस्तो अवैध धन्दा गर्ने ७ जनालाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको जिम्मा लगाएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीस्थित प्रबिन कुमार बंका ले संचालन गरेको एएसटी कम्पनीमा मिति गुज्रिएका विभिन्न चकलेट, तेल, क्यामिकल पाउडर लगाएतका खाद्यान्न सामाग्रीहरुमा भएको स्टिकर मेटाई मेसिनद्वारा नयाँ बनाई बजारमा बिक्री वितरण गर्ने गरेको भेटिएको थियो।
आइतबार दिउँसो एएसटी कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु र महानगरिय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा उपभोग्य मिति सकिएको चकलेटलगायत विभिन्न खाद्यान्न सामाग्रीहरु फेला परेको थियो। यस्तो कार्यमा संलग्न ७ जनालाई पक्राउ गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाइएको छ।
पक्राउ पर्ने व्यक्तिहरुमा भारत बिहार राज्य समस्तिपुर जिल्ला दलसिंह सराही ग्राम घर भई हाल काठमाडौं महानगरपालिका- १३ बाफल बस्ने ५२ वर्षका अनिल कुमार बन्का उक्त कम्पनीका संचालक हुन्।
त्यस्तै दोलखा मेलुङ गाउँपालिका- ६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी बस्ने रस्मिता श्रेष्ठ, कञ्चनपुर शुक्लाफाँट नगरपालिका- ५ घर भई बानेश्वर बस्ने आनन्दप्रसाद अवस्थी र ओखलढुङ्गा सिद्दिचरण नगरपालिका- १ घर भई माछापोखरी बस्ने बिनोद ओझालाई पक्राउ गरिएको हो।
त्यसैगरी खोटाङ दिक्तेल नगरपालिका- २ घर भई कलंकी बस्ने रामकुमार खत्री, बारा जिल्ला निजगढ नगरपालिका- ३ सिंगोलका सोनु तामाङ र सर्लाही लक्ष्मीपुर नगरपालिका- ३ घर भई हाल कलंकी बस्ने मोहन महतोलाई पक्राउ गरिएको छ।
उनीहरुका साथबाट ना ३ च १८०५ नम्बरको महेन्द्र बोलेरो गाडी र ना ४ च ८३८६ नम्बरको डि आई टाटा गाडी पनि बरामद भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
सम्बन्धित समाचार
म्याद गुज्रिएका वस्तुको 'रिलेबलिङ' गर्ने व्यक्ति उधारो धरौटीमा रिहा
म्याद गुज्रिएका वस्तु ‘रिलेबलिङ’ गर्न विशाल ग्रुपले भारतीयसँग लिखित सहमति गरेको खुलासा
म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’मा विशाल ग्रुपको संलग्नता, ८ जना प्रहरीको नियन्त्रणमा
कलंकीको एक घरभर म्याद गुज्रिएका सामान, नयाँ स्टिकर लगाएर बजार पठाउने गरेको खुलासा
म्याद सकिएका खाद्यवस्तुमा ‘रिलेबलिङ’ गर्ने कम्पनीका मालिक भारतीय नागरिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।