काठमाडौं– चर्चित गीतकार तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गीतकारको पीडालाई लघुकथाका रुपमा प्रस्तुत गरेर व्यंग्य गरेका छन्। पूर्णकालिक गीतकारका रुपमा सक्रिय बिजीले शब्द सिर्जनालाई गायक गायिकाहरुले महत्व नदिएको विषयलाई अनुभूति शैलीमा प्रस्तुत गरेका छन्।
'बिचरा गीतकार' शिर्षकमा उनी अनुभूतिजन्य लघुकथा यसरी प्रस्तुत गर्छन्:
निद्रामै फोनको आवाजले उठायो !
(चिनेको आवाज) 'दाई एउटा गीत गर्दै छु हजुरले शब्द लेखिदिनु पर्यो।'
मेरो उत्तर हुन्छ, 'हुन्छ नि, म प्रयास गर्छु । आखिर मेरो बाँच्ने आधार पनि त त्यही भएको छ आजकल। हजुरलाई चित्त बुझ्यो भने गरौंला।'
उतबाट आवाज, 'धन्यवाद दाइ (अँग्रेजीमा)। गीत त बवाल गर्दैछु दाई ! गायिका पनि २/३ लाखकै राख्दैछु, भिडियो पनि ५/७ लाख नै खर्च गर्छु । बुस्ट पनि दामी हान्छु दाइ!'
ए ! राम्रो कुरा । कैले सम्म गर्नि सोच छ त भाइ ?
'हजुरले गीत सक्दिनि बित्तिकै दाई आखिर शब्द त चाहियो नि दाइ। एरेन्ज पनि ५० हजार खालको गर्ने हो दाइ, पूरै कम्प्युटरले । ए साँच्चै दाइले गीत लेखेको कति लिनि गर्नु भा'छ ?'
हजुरलाई के कति भन्नु सृजनाको के मूल्य हुन्छ र ? त्यो त अमूल्य छ ! दिनु न यस्सो कलम मसिको दु:ख १५/२० हजार।
त्यसपछि उताबाट निरीहता प्रकट हुन्छ, 'कसम दाइ बजेट नै छैन । यस्सो हेर्दिनु न ल।'
एकाएक कस्तो परिवर्तन !?!
त्यत्रो बजेट बिनियोजन जसमा गीत लेख्ने मान्छेले मात्रै यस्सो हेर्दिनुपर्ने। गीतको आत्मा शब्दमा हुन्छ अनि आत्मा निचोरेर सफलता के सम्भव छ त ? बिचरा गीतकार!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।