रुपन्देही- एकपक्षीय रुपमा प्रदेशको राजधानी रुपन्देहीबाट भालुवाङ लैजाने प्रस्तावको विरुद्धमा भैरहवामा रहेका व्यवसायिक तथा सामाजिक संघ सस्था एक ठाउँमा उभिएका छन्। भैरहवामा क्रियाशील संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन लगायत विभिन्न संघ–संस्थाहरुले राजधानी रुपन्देहीबाट सार्न नहुने अडान राख्दै सरकारले प्रस्तुत गरेको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
भौगोलिक सुगमताको हिसाबले प्रदेश नम्बर ५ का सबै जिल्लाहरुलाई सहज हुने रुपन्देही नै प्रादेशिक राजधानीका रुपमा उपयुक्त हुने उनीहरुको भनाइ छ। अन्य प्रदेशका राजधानी तत्कालीन सरकारले तोकेकै स्थानमा कायम रहेका कारण पनि नयाँ प्रस्ताव यस क्षेत्रका कसैको हितमा नभएको यथार्थतालाई बुझेर सो प्रस्ताव तत्काल फिर्ता लिन उनीहरुले प्रदेश सरकार समक्ष आग्रह गरेका छन्।


आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, उद्योग व्यापार संगठन रुपन्देही, भैरहवा मर्निङ वाक ग्रुप, भन्सार एजेन्ट संघ रुपन्देही, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देही, सिद्धार्थ साहित्य परिषद् रुपन्देही, सिद्धार्थ यातायात प्रा.लि., जेसिआई सिद्धार्थ नेपाल, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, बैंकर्स एशोसियशन भैरहवा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, रुपन्देही, स्वतन्त्र लेखक विजय सागर, सोट्टो नेपाल लुम्बिनी, भैरहवा लायन्स क्लब, रोटरी क्लब अफ लुम्बिनीका प्रतिनिधिहरुको छलफलपछि संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भालुवाङ भौगोलिक दृष्टिकोणले पनि उपयुक्त नभएको बताउदै रुपन्देहीबाट राजधानी सार्ने कोशिस गरिए चुप लागेर नबस्ने बताएका छन्।
नचाँहदा नचाँहदै पनि जनताहरुकोे आन्दोलनको दबावबाट प्राप्त हुने परिणामले प्रदेश सरकार र जनप्रतिनिधिको साख र औचित्यमाथि समेत प्रश्न चिह्न उठन सक्ने उनिहरुकाे चेतावनी छ। बुद्धिमतापूर्वक तत्कालै प्रस्ताव फिर्ता लिई रुपन्देही जिल्लालाई नै प्रदेशको राजधानी बनाउने गरी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबैमा आग्रह गर्दछौं उनीहरुकाे विज्ञप्तीमा भनिएकाे छ।
संघीय सरकारको गत आर्थिक वर्षको बजेटमार्फत् पनि रुपन्देहीलाई नै प्रदेश नम्बर ५ को राजधानीको रुपमा विकास गर्नेगरी विभिन्न पूर्वाधार र संरचनाहरु निर्माणको लागि बजेट समेत विनियोजन गरिएको उनीहरुकाे तर्क छ। प्रदेश नम्बर ५ का सबै पहाडी तथा तराईका जिल्लाहरुको सहज आवागमन एवं बहुसंख्यक जनतालाई पायक पर्ने सुगम क्षेत्र रहेकाे उनीहरुकाे दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।