काठमाडौं- अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले तथ्यांकको सही प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले तथ्यांकीय विश्लेषणमा ध्यान दिन पनि कर्मचारीलाई निर्देशन दिएका छन्।
'तथ्यांकमा रमाइलो नगरौँ, तथ्यांकको विश्लेषणमा ध्यान दिऔँ,' भन्सार विभागले आयोजना गरेको गोष्टीमा सचिव ढुंगानाले भने। उनले भन्सारको भूमिका व्यापार सहजीकरणमा हुनुपर्ने भन्दै कर्मचारीले शासकको मान्यता त्याग्नुपर्ने पनि उल्लेख गरे।
भन्सारमा विगतमा थालिएका सुधारलाई संस्थागत गर्दै थप सुधारका काम अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
यस्तै राजस्व सचिव रामशरण पुडासैनीले मालवस्तु मूल्यांकन, वर्गीकरण र जोखिम व्यवस्थापनका विषय बेलाबखत उठ्ने गरेको भन्दै त्यसको समाधानमा अग्रसर हुन आग्रह गरेका छन्। उनले नेशनल सिंगल विन्डो व्यापार सहजीकरणको कोशेढुंगा भएकाले यसको प्रणाली विकासमा ध्यान दिन पनि आग्रह गरे।
शुक्रबार र शनिबार गरी दुई दिन चलेकाे गोष्ठीमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारमा आशिकुडा प्रणालीका विभिन्न मोडल लगाएर सुधारका काम अघि बढाइएको बताए। उनले भन्सारमा लाग्ने समय र लागत घटाइएको जानकारी दिए। उनले भन्सार एजेन्टको नियुक्ति प्रक्रिया सुरु भएको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।