काठमाडौं- लोकदर्शन रेग्मीले मुख्यसचिवका रूपमा गरेका कामका विषयमा नेपाल लाइभमा समाचार छापिएपछि पूर्वसचिव शारदाप्रसाद त्रितालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'एकपछि अर्को अवसर यस्तैले पाउने त हो नेपालमा। उहाँलाई राजदूत बनाइयो भने यो स्पस्ट हुन्छ कि त्यो देशमा नेपालको राजदूतावास आवश्यक नै रहेनछ।'
मुख्यसचिव रेग्मीले बिहीबार पदबाट राजीनामा दिए र बेलायतका लागि नेपाली राजदूतका लागि सिफारिस भए। निजामती सेवामा करिअरको अन्तिमतिर आइपुग्दा रेग्मी 'ग्रेसफुल एक्जिट' खोजिरहेका थिए। त्यसका लागि उनले रोजेको स्थान थियो संयुक्त अधिराज्यका लागि नेपाली राजदूत।
मुख्यसचिवको ३ वर्षे कार्यकाल पुरा गरेको भए उनले कात्तिक ६ गतेमात्रै अवकाश पाउँथे। त्यसपछि मुख्यसचिवको एक्ला दाबेदार हुन्थे उद्योग सचिव चन्द्र घिमिरे। घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव नबनाउने मनसाय बुझेका रेग्मीले आफ्नो बहिर्गमन र भावी मुख्यसचिवको विषयमा प्रधानमन्त्रीलाई 'कन्भिन्स' गराए र त्यसैअनुसार निर्णय गराए।
रेग्मी अब संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेसँगै लण्डन उड्नेछन्। बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको कार्यकाल सकिएको छ। अब उनी फिर्ता हुनेछन् भने उनको स्थानमा रेग्मी बेलायत पुग्नेछन्।
नेपालसँग सबैभन्दा पुरानो दौत्य सम्बन्ध कायम भएको बेलायतसँग नेपालका केही कूटनीतिक जटिलता छन्। गोर्खा सैनिकका समस्या अझै पनि सुल्झिएका छैनन्। गुनासो नसुन्ने र काममा पनि खास ध्यान नदिने स्वभावका रेग्मीका लागि बेलायती राजदूतको जिम्मेवारी अझ चुनौतीपूर्ण रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।