काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर सञ्चालन भएको मतदानको निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजेसम्म सञ्चालन भएको थियो।
केही स्थानमा सामान्य विवादका घटना भए पनि अधिकांश क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
मतदान कति प्रतिशत भयो भन्नेबारे विवरण संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही बेरमा पत्रकार सम्मेलन गरेर मतदानको विवरण सार्वजनिक गर्ने आयोगको तयारी छ ।
२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनपछि गठित नागरिक सरकारले २१ फागुन अर्थात् आजका लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।
मतदानको दिन आउनु केही समयअघिसम्म पनि चुनाव हुँदैन कि भन्ने संशय कायमै थियो । तर, देशभर शान्तिपूर्ण रूपमा मतदान गराएर सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आफूले पाएको मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । मतदान सकिएसँगै अब मतपेटिका संकलनको काम सुरु हुनेछ ।
मतपेटिका संकलनपश्चात् गणनाको काम सुरु हुनेछ । निर्वाचन आयोगले मतपेटिका छिट्टै संकलन हुन सक्ने स्थानमा आजै मतगणना सुरु हुने जनाएको छ । गणना सुरु भएको २४ घण्टाभित्र अधिकांश स्थानको नतिजा आइसक्ने दाबी आयोगको छ । प्रत्यक्षमा १ सय ६५ र समानुपातिकमा १ सय १० गरी २ सय ७५ सिटका लागि चुनाव भएको हो ।
निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।