काठमाडौँ– दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ ।
बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे ।
मतपत्र खोसिएपछि केही बेर झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। तनाव बढेपछि मतदान रोकिएको र अझै सुरु हुन नसकेको गाउँपालिकाका प्रवक्ता नारायण खड्काले जानकारी दिए।
मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ । हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।
आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेका छैनन् । विवाद गर्नेहरूमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता छन् ।
अहिले मतदान स्थलमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान स्थल बाहिर मतदाताले मतदान गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।