काठमाडौं- पछिल्लो समय विद्युत वितरण प्रणालीमा विभिन्न समस्या देखिएर पटक–पटक बिजुली काटिन थालेपछि ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ‘र्यापिड रेस्पोन्स टिम’ बनाएर काम गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित उच्च अधिकारीहरुसँग मंगलबार छलफल गर्दै खराब मौसम, वितरण प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ।
लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुने बताए।
प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन पनि मन्त्री पुनले स्पष्ट निर्देशन दिएका छन्। ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्,’ पुनले भने। ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होस्।’
यस्तै गरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्रार्हस्थ्य र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।