नयाँ दिल्ली- सुशान्त आत्महत्या प्रकरणमा मृत्युको अनुसन्धानभन्दा ड्रग्समा धेरै चर्चा भएपछि परिवारले गलत दिशामा काम भएको आरोप लगाएका छन्। परिवारका तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता विकास सिंहले लागू औषध जाँच ब्युरोको अनुसन्धान मृत्युको वास्तविक तथ्य पत्ता लगाउन बाधक हुनसक्ने बताएका छन्।
उक्त प्रकरणपछि शुरु भएको ड्रग्सको मामिला अहिले बलिउडका हाइप्रोफाइलमा केन्द्रित भएको छ। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई एनसिबीले पक्राउ गरेपछि ड्रग्स प्रकरणमा दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुर तानिएका छन्। उनीहरुलाई एनसिबीले बयान समेत लिएको छ।
उनीहरुको बयानलाई विश्वास गर्न नसकेपछि एनसिबीले उनीहरुको मोबाइल पनि नियन्त्रणमा लिएको छ।
अधिवक्ता सिंहले पुरै बलिउडलाई यो प्रकरणमा तानेर मुख्य मुद्दा ओझेलमा पारेको आरोप लगाए। अहिलेसम्म अनुसन्धान गर्ने निकायलाई कुनै पनि सुराक हात नलागेको र उनीहरुको अनुसन्धान भइरहेको भन्दै बलिउडलाई देखाएर यसलाई ओझेलमा पार्न खोजेको उनको आरोप थियो।
उनले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)को अनुसन्धानमाथि पनि प्रश्न उठाए। जसरी सिबिआईले अनुसन्धान गरिरहेको छ यसले गलत दिशामा लैजाने अधिवक्ता सिंहको तर्क छ।
सिबिआईको टिम दिल्लीमा आएको एकहप्ताभन्दा धेरै भएपनि अहिलेसम्म एम्सका डाक्टरहरुसँग समेत नमिलेकाले अनुसन्धानमा कुनै प्रगति भएको भन्न नसकिने उनको आरोप थियो। सुशान्तको परिवारले आत्महत्या नभई घाँटी थिचेर मारेको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।