पटना–भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान हुने भएको छ। मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन्।
कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सबैभन्दा ठूलो निर्वाचन मानिएको छ। तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले जनाएको छ।
अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन्। निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन बिहान ७ बजेदेखि मतदान सुरु गरिने जानकारी दिए।
कोरोनाबाट र विद्रोही समूहहरुबाट बढी प्रभावित क्षेत्रहरुमा भने केही समय थपघट गर्न सकिने पनि उनले स्पष्ट पारे। कोरोनाभाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेला बिहारमा निर्वाचन हुन लागेको हो।
निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिन विशेष स्वास्थ्य सतर्कतासहितको मापदण्ड तय गरिएको आयोगले जनाएको छ। पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन् । त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरु चयन हुनेछन् ।
आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ।
यी सामग्रीहरुको प्रयोग बाहेक सामाजिक दूरी कायम गर्ने, भीडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।