एजेन्सी–फ्रान्सका गृहमन्त्री जेराल्ड डारमानिनले चार्ली हेब्दो पत्रिकाको पहिला कार्यालय रहेको स्थाननजिकै भएको आक्रमणलाई ‘आतंकवादी आक्रमण’ का रुपमा लिइएको बताएका छन्। चक्कु प्रहारको उक्त घटनामा २ जना घाइते भएका छन् भने घटनास्थलनजिकैबाट पाकिस्तानी मूलका एक १८ वर्षीय व्यक्तिसहित अन्य चार जनालाई हिरासतमा लिइएको छ।
गृहमन्त्री डारमानिनले आक्रमण ‘स्पष्ट रुपमा इस्लामिक आतंकवादबाट भएको’ बताए।
आक्रमणमा घाइते हुनेहरु एक टेलिभिजन प्रोडक्सन कम्पनीमा काम गर्नेहरु हुन्।
सन् २०१५ मा व्यंगात्मक पत्रिका चार्ली हेब्दोमा भएको आतंकवादी आक्रमणमा १२ जना मारिएका थिए। उक्त आक्रमणका १४ आरोपीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। सोही मुद्दाको सुनुवाई भइरहेको समयमा यो आक्रमण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।