एजेन्सी–अमेरिकाले विश्वका लागि अति समस्या सिर्जना गरेको आरोप चीनले लगाएको छ। राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा बोल्दै राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले उक्त आरोप लगाएका हुन्।
‘मैले भन्नैपर्छ, अति भयो अति, अमेरिकाले विश्वका लागि अति समस्या सिर्जना गरिसकेको छ,’ उनले भने। राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राप्mटले चीनले कोरोना भाइरसको उत्पत्ति र यसको खतरालाई लुकाएको भन्दै आलोचना गरेपछि चिनियाँ राजदूत पनि प्रतिरक्षामा उत्रिएका हुन्।
झाङले सुरक्षा परिषद् बैठकको वातावरण खलबलिनेगरी फेरि अमेरिकाको हल्ला सुन्नुपरेको बताए। उनले कोरोना भाइरस संक्रमणसम्बन्धी अमेरिकी आरोपलाई बेइजिङले अस्वीकार गरिसकेको पनि दोहोर्याए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रसंघमा गरेको रेकर्डेड भिडियो सम्बोधनमा पनि चीनले कोरोना भाइरसबारेको जानकारी विश्वलाई लुकाएको आरोप लगाएका थिए। उनले चीनले संक्रमणपछि विश्वका मुलुकहरुमा उडानको स्वीकृति दिएर ‘चिनियाँ भाइरस’ विश्वभर फैलाएको बताए।
सुरक्षा परिषद् बैठकमा रुसी राजदूतले पनि अमेरिकी आरोपको आलोचना गर्दै चीनको प्रतिरक्षा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।