तामझामका साथ संविधान दिवस टुँडिखेलमा मनाइरहँदा विशिष्ठ व्यक्तिहरु आसिन मञ्चको रौनकता धेरै देखिन्थ्यो। सवारी साधनमा विशिस्ट व्यक्तिहरु निरन्तर आगमन भइरहेको थियो। टुँडिखेल सुन्दर फूलहरुले सजाइएको थियो। संविधान दिवसको भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी हुँदै थियो।
विभिन्न झाँकी, हेलिकप्टरबाट पुष्पवृष्टि, प्रहरी कार्यक्रम आदि गरिने हुँदा सबै वरिष्ठ नेताहरुको उपस्थिति हुने पक्कापक्की थियो।
राष्ट्रपतिको आगमन पश्चात् कार्यक्रम शुभारम्भ गरियो। टुँडिखेलको चारै कुनामा ठूलाठूला साउन्ड बक्स राखिएको थियो। त्यहाँको भाषण खुल्ला मञ्चमा प्रष्ट सुनिन्थ्यो।
तर त्यही टुँडिखेल नजिकै रहेको खुल्ला मञ्चमा भने दृश्य फरक पाइयो। त्यहाँ रहेको सामाजिक कार्य अन्तर्गत केही जोसिला युवाले निशुल्क खाना ख्वाइरहेका थिए। लगातारको बन्दमा र कोरोनाको सुर्ता नगरी धमाधम खाना ख्वाइरहेका थिए, स्वयंसेवकले। त्यही भीडमा न्युरोडमा काम गर्दै आएका दुई भरिया वीरे र ज्यामिरे आफ्नो भोक मेटाउन अलिअलि हिलाम्मे सडकमा थ्याच्च भूइँमा बसेर प्लेटमा खाना खाइरहेका थिए।
उनीहरुको पछाडि टुँडिखेल छ। बेलाबेला उनीहरु हेलिकप्टरको आवाज सुन्दै पछाडि फर्की खाना खान व्यस्त रहे। उनीहरुको मुखमा गाँस परिरहँदा अनुहार भने मलिन थियो।
वीरे चिन्तित देखिन्थ्यो र पछाडिको पुष्पवृष्टि गरिरहेको देखेर आक्रोशित हुँदै भन्यो- 'थुइक्क! लाछी सरकार, तेरो यस्तो मैलो छवि।'
ज्यामिरे(वीरेलाई हेर्दै)- 'ओई के बकबक गरेको एक्लै। तलाई के भयो?'
वीरे (पछाडि फर्किँदै) 'ऊ त्यहाँ हेर् न नाटक। देखिनस्? यस्तो बेलामा हामी जस्तालाई सहयोग गर्नु नि। किन जनताको पैसा हावामा फूल बर्साएर उडाएको होला?'
'हो नि वीरे। हामी कति अभागी है? पेटमा अन्न पार्न नि मुस्किल छ आजकल। यहाँ स्वयंसेवकले ख्वाएर आजको दिन टर्यो तर भोलि के होला?'
'हो नि ज्यामिरे। हामी अभागी छौं है। हाम्रो देशमा सरकारले अब कोही भोकभोकै मर्नु पर्दैन भन्यो। अब कोही विदेश जानु पर्दैन देशमै रोजगारी हुन्छ भनियो। अझ सरकारले जनतालाई बाँड्ने पैसा छैन, देशको आर्थिक अवस्था नाजुक छ भन्दै राजश्व उठाउन केन्द्रित बन्यो। हामी जस्तो सानो पदकालाई बेवास्ता र लावारिस छाडिदिने काम गर्यो। न घाउमा मलम लगायो, न घरभाडामा सहयोग गर्यो। अझ उल्टै बेरोजगारी बनायो र घर परिवारको बिचल्ली पार्दियो।'
(काँधमा थपथलाउदै) 'नरो वीरे.... अभागी कर्म, त्यहीमाथि गरिब हामी अनि निकम्मा सरकार। कसको के पो आशा गर्नु र अब। नरो।'
'हैन ज्यामिरे तँ आफैं भन त, हामी नेपाली भएर जन्मेको केका लागि हो? के यिनीहरुको दास बनी बस्नुपर्ने? कठपुतली बनी बस्नुपर्ने?'
'जस्तो डमरु त्यस्तै आवाज। जस्तो नेता त्यस्तै देश। हामी त आफ्नो जीवन बाँच्ने हो, हासेर खुलेर। त पीर नमान यस्ता लाछीहरुको के कुरा गर्नु यार।'
'ज्यामिरे तैंले थाहा पाइस् साँच्चै। साथी रवि (तरकारी व्यापारी) लाई पुलिसले हिजो बेलुकी लग्यो रे!'
'अहँ! के भएछ र? सानो सब्जी पसल थियो उसको त। केचहिँ अपराध गरेछ त?'
'प्याज महंगोमा बिक्री गर्यो अरे, त्यसैले। हा हा! कति लज्जास्पद घटना हाम्रो प्रशासनको', वीरे ठूलो आवाजमा हाँस्छ।
वीरे भन्छ- 'यत्रा वाइड बडी निलेका, मेडिकल किटमा घोटला गरेका, अरबौं भ्रष्टाचार गरेका, बालुवाटार बेच्नेहरु खुलेआम यहाँ विशिष्ट बनी घुमिरहेका छन्। अनि रवि जस्ता निर्दोषलाई समाएर चोखो बन्न खोज्छ सरकार।'
'त्यही त १००० घुस लिएको आरोपमा साधारण जनतालाई दण्ड सजाय दिने गर्छ नेपाली कानुन र आत्मसम्मानमा आँच आउँदा अन्त्यमा आत्महत्या गर्न विवश बनाउँछ। तर अरबौं घोटाला गर्नेलाई तामेलीमा पठाइन्छ अख्तियारबाटै, क्लिन चिट पाउँछन् र सरकारी तक्मा पाउँछन्', ज्यामिरे निराश भाव व्यक्त गर्छ।
(माइकमा आवाज आउँछ, प्रधानमन्त्रीको)- 'कोरोना नभएको भए देशले धेरै ठूलो फड्को मार्ने थियो। यही कोरोनाले विकास गति कम हुन गयो। तर पनि हाम्रो सरकारले सफल बनेर देखाइसकेको छ।'
'देखिस् ज्यामिरे, यी प्रधानमन्त्रीलाई जे भने पनि हुने भएको छ। यिनले मुटुमा हात राखी भनुन् त, के साँच्चै देशले फड्को मारेको छ त?'
'त्यही त वीरे। फड्को त हैन, म त पछि गएको देख्छु देशलाई। बुझिस्।'
(माइकमा आवाज आउँछ प्रधानमन्त्रीको)- 'देशलाई ठूलो सेवा पुर्याउनु भएको विभिन्न विशिस्ट व्यक्तिहरुलाई सरकारले विशेष सम्मान गर्ने भएको छ। प्रवल जनसेवा श्रीबाट हामी देशको विभिन्न क्षेत्रमा सेवा पुर्याउनुभएका सयभन्दा माथि नेपालीलाई सम्मान गर्नेछौं।'
'सुनिस् वीरे, हाम्रो भाग्य। यतिका मानिसले पदक पाउँदा देशमा करोडौं रुपैयाँको धनराशी हुन्छ। त्यत्रो खर्च यस माहामारीमा किन गर्नुहोला? गरिब तथा निम्न आय भएकालाई केही राहत स्वरुप बाँड्दा हुँदैन थियो र? के देशमा संविधान दिवसका दिन आफ्ना जनताभन्दा प्यारो त्यो विशेष सम्मानको जरुरी छ? के ती सबै अर्को साल दिए हुन्न र?'
'आ ज्यामिरे अब यी लाछी कुरा के सुन्नु र? के देख्नु हामी? हामीले यहाँ विवाद गरेर पनि केही हुनेवाला हैन रहेछ। आखिर देश उनीहरुले बालुवाटार र सिंहदरबारमा बसेर चलाउने हुन्। हामी भोका नाङ्गा जनता यो बिषयमा नबोलेको राम्रो। कति टाउको दुखाउनु? आ जाऊ अब काममा त्यहाँ गलैंचा दरबार मार्गसम्म पुर्याउनु भनेका छन् साहुले।'
(टाउकोमा हात राख्दै)- 'ए त्यही त भुसुक्क बिर्सेछु मैले। लौ लौ हिँड् जाऊ वीरे। यहाँ बसेर पैसा पाक्दैन अब उतै जाऔं। भरे टिभीमा सुनौला यी बकम्फुसे कुरा', ज्यामिरे भूइँमा रहेको नाम्लो कम्मरमा बाँध्दै भन्छ।
दुवै त्यहाँ रहेका स्वयंसेवकसँग भात जोडी बिदा माग्छन्।
उनीहरु पर पुग्दासम्म प्रधानमन्त्री माइकमा भन्दै थिए- 'अब कोही जनता भोकै बस्नु पर्दैन, अब कोही जनता सरकारको विरोध गर्ने छैन। किनकि सरकारले जनताका निमित्त विशेष व्यवस्था गरी जन मन जितिसकेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।