'ए बाबा। म अफिस गएँ है।'
'हुन्छ नानी। विस्तारै जाऊ है।'
'सुन्नु न, हिजो स्कुटीको चाबी कता राखेँ?,' जुत्ता र्याकमा किरिङ होल्डरमा चाबी नभेटेर सोधखोज गर्छिन् नैना।
'ए पर्ख है। बिर्सेर हिजो भान्सामा लगेको थिएँ, सायद। म ल्याइदिहाल्छु एकछिन बस है,' प्रेम हतार हतारमा सिँढी चढदै चाबी लिएर ओर्लिन्छन्।
फिस्स हाँस्दै नैना मायाले भरिएको आँखाले बिदा माग्दै मास्क र हेल्मेट लगाई स्कुटर सफा गर्न थाल्छिन्।
(मोबाइल हातमा दिँदै) 'यहाँभित्र तिम्रो मोबाइल छुटेछ नानी। एकैछिन है गेट खोल्दिन्छु म,' प्रेम हसिलो मुहारले नैनालाई बिदा गर्छन्।
(च्वाई..खिया लागेकाले आवाज निकाल्दै गेट खुल्छ।)
नैना पुनः प्रेमलाई हेर्दै 'मेरो हाउस हसबेन्ड' भन्दै भुटुटु आवाज निकाल्दै स्कुटर अगाडि बढाउँछिन्। प्रेम गेट लगाएर ढोका बन्द गर्दै भित्र कोठामा प्रवेश गर्छन्।
'अहो! मेरो त क्लास छ। अनलाइनमा जान भुसुक्क बिर्सेछु,' १०:१५ देखाइसकेको घडी हेर्दै आफैं फतफताउन थाल्छन्।
कोठामा एक कुनामा सेतो बोर्ड राखिएको छ। छेउमा एउटा मार्कर, डस्टर अनि अगाडि क्यामेरा स्टेन्ड बनाउन एउटा कुर्सीमाथि सिरानी राखिएको छ। मोबाइल अड्याएर र ल्यापटपबाट पढाउन मिल्ने गरी टेबल तयार पारिएको छ। खुल्ला कोठामा प्रशस्त हावा र सूर्य प्रकाश छिर्ने झ्याल छ।
प्रेम आफ्नो फर्मल सर्ट पेन्टमा टक्क सजिएर बस्छन्।
'गुड मर्निङ माइ डियर स्टुडेन्ट... सरी आइ गट लेट टुडे, ड्यु टु सम टेक्निकल डिफ्फिकल्टिज।'
उनको क्लास सुरु हुन्छ।
करिब १२ बजे उनको दुई पिरियड लिएर मुस्कानका साथ बाहिर निस्कन्छन्। 'अहो! मेरो त कपडा सुकाउनु छ। मेसिनमा हालेको थियो। यस्तो चर्को घाम लागेको छ फेरि अहिले सुकाइएन भने यो जाडोमा सुक्न टाइम लाग्छ,' उनी फतफताउँछन्।
प्रेम हतारले वासिङ मेसिन भएको स्थानमा पुग्छन् अनि एउटा बास्केटमा चिसा कपडा निकाली छतमा लिएर जान्छन्। काठमाडौंको व्यस्त सहरमा घर भए पनि प्रेमको घरबाट पारिको दृश्य लोभलाग्दो देखिन्छ। उपत्यका.. वरिपरि पहाड उत्तरमा हिमाल, पश्चिममा स्वयम्भु, दक्षिणमा चन्द्रागिरि र दक्षिणकाली अनि पूर्वमा कन्क्रिटका घरहरु। उनलाई नियमित यी कार्य गर्दा समय लाग्दैन, कपडा सुकाउँछन र क्लिपले च्याप्दै हावालाई कपडा उडाएर देखाउन चुनौती दिन्छन्।
तल ओर्लिएर उनी तातो पानी खान थर्मस खनाउँदा पानी सकिएकाले खानेपानी इलेक्ट्रिक किट्लीमा बसाउँछन्। भान्सामा अलिक व्यवस्थापन गरी उनी अघि नैनाले मोलेर राखेको भाडाकुडा मिलाएर राख्छन्। पानी उम्लिएपछि बन्द गर्दै बैठकमा बसी टिभीमा ताजा वर्तमान घटनाक्रम नियाल्छन्। दिउँसो खाजा बनाई खाएपछि घर चिटिक्क सफा पार्दै उनी दिनभरिको कामको बिट मार्छन्।
नैनालाई बेलाबेला फोन गर्दै खाजा पानी राम्ररी गर्न मायालु भावमा सम्झाउँछन्। नैना अफिसमा व्यस्त भएकीले उनीहरुको दैनिक धेरै फोनमा कुराकानी हुँदैन। साँझ झमक्क परेपछि नैना आउने बाटो हेर्दै प्रेम बेलाबखत बाटोमा नजर डुलाउछन। बेलुकी सब्जी तरकारीको व्यवस्था गर्न कहिलेकाही प्रेम आफैं दौडिन्छन्। प्राय एकमुष्ठ किनमेल गर्दै हप्ता भरिको रासन स्टोर गरेका हुन्छन् उनीहरू।
सूर्यले दिनलाई बिदा माग्दै पश्चिममा अस्ताउन तयार हुन्छ। गोधुली साँझले आकाश रातो रातो भएर मन लोभ्याउछ, आकर्षण गर्छ र विस्तारै पूर्वमा चन्द्रमा मधुरो बनिँदै देखिन थाल्छ। ताराहरु विस्तारै देखिन थाल्छन्। प्रेमले सबै कोठा अनि बरन्डाको बत्ती बाली सन्ध्याकालीन पूजा गर्छन्। त्यस पश्चात् नैनाले ढिला गर्ने अनुमान लाउदै उनि आउनु अगाडि प्रेम खाना पकाउन भान्सामा जान्छन्। यत्तिकैमा फोन बज्छ।
'बाबा म आउन ढिला हुन्छ है। केही नगर्नू म आएर पकाउछु,' नैनाले यत्ती भन्दै फोन राखिन्। प्रेम खाना बनाएर सबै हटकेसमा राख्छन्। अनि टिभी हेर्दै बस्छन्। राति ८ बज्दा बल्ल ढोकाको घण्टी बज्छ (टिङ्ग्टोङ्ग)। प्रेम हतारिँदै गएर ढोका खोली नैनालाई स्वागत गर्न पुग्छन्।
'अहो स्कुटी आएको थाहा पाइनँ मैले। टिभीको आवाज ठूलो थियो। धेरै समय त कुर्नु परेन नि नानी?'
'छैन बाबा! आज ढिला भयो। अनलाइन केही अर्डर गरी खाऔं न है,' जुत्ता खोल्दै नैना थकित स्वरमा भन्छिन्।
'हुन्छ नानी। पहिला माथि जाऔं। हिँड फ्रेस हुनु अनि चिया खाउँला अनलाइन अर्डर अनि दिनुपर्छ है,' मुसुमुसु हाँस्दै प्रेम कपाल सुम्सुम्याउछन्।
'हस बाबा। थेन्क यु फर योर कम्पनी,' म माथि गएँ है। गेट लगाइदिनु न।
नैना फ्रेस भएर ड्रेस चेन्ज गरी माथि बैठकमा जान्छिन्। प्रेम भने टिभी हेर्न व्यस्त रहन्छन्।
'आज त हेक्टिक वर्क सेड्युल थियो। हाई प्रेसर वर्क। सरी बाबा म बीचमा केही सोध्न र बोल्न पाइनँ। के मगाउने? हजुर मगाउनु म कफी बनाउँछु,' नैना प्रेमको छेउमा थकित शरीरलाई विश्राम गर्न बस्दै भन्छिन्।
प्रेम मौन बनी मोबाइल हातमा खेलाउँदै बस्छन्। एकैछिनमा भान्सामा नैना पसेर नियाल्दा छक्क पर्छिन्। हसिलो मुद्रामा प्रेमको समीप आएर बस्छिन् र हात समाउँदै भन्छिन्- 'बाबा मेरो मास्टर सेफ, मेरो हाउस हसबेन्ड! तिमी मलाई किन यति धेरै माया गर्छौ?'
प्रेम फिस्स हासेर नैनाको कपाल सुम्सुम्याउदै भन्छन्- 'तिमी म भनेको बराबरी हो नि। तिमी हाउसवाइफ हुन सक्छौ भने म हाउस हसबेन्ड किन हुन सक्दिनँ? नानी भोक लाग्यो। अब जाऔं खाना खाऔं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।