काठमाडौं-कालोबजारी मुद्दा लागेका बल्खु र कालीमाटी तरकारी बजारका ३ व्यापारीको १२ क्विन्टल बराबर प्याज सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी तथा व्यापार कम्पनीले बेच्ने भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अघिल्लो हप्ता गरेको बजार अनुगमनका क्रममा बल्खुका २ र कालीमाटीका १ व्यापारीहरुले प्याज लुकाईछिपाई राखेको र कालोबजारी गरेको भेटिएपछि व्यापारीहरुलाई नियन्त्रणमा लिई प्याज जफतसमेत गरेको थियो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा बजार अनुगमन शाखा प्रमुख सागर मिश्रका अनुसार पक्राउ परेका व्यापारीलाई कारबाहीको प्रकृया चलुन्जेलसम्म प्याज बिग्रिसक्ने अवस्था देखिएपछि व्यापार कम्पनी आफैले बेच्न लागेको हो।
‘३ व्यापारीउपर कालोबजारी मुद्दा चलिरहेको छ। मुद्दा फैसला हुन्जेल प्याज बिग्रिसक्ने भएकाले खाद्य व्यवस्था कम्पनीमार्फत् बेच्न लागिएको हो। उनीहरुले मुद्दा जितेको खण्डमा पैसा फिर्ता पाउँछन।’ मिश्रले भने।
खाद्य व्यवस्था कम्पनीको थापाथली कार्यालयबाट बिक्री वितरण हुने प्याजको मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ भने प्रतिव्यक्ति ५ किलोका दरले मात्रै बिक्री बितरण हुने निर्देशक मिश्रको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।