काठमाडौं–हुम्लाको सीमा क्षेत्रमा नेपाललाई जानकारी नै नदिई भवन बनाएको सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा बनाएको दाबी गरेको छ। काठमाडाैंस्थित चिनियाँ दूतावासले मंगलबार राति विज्ञप्ति जारी गरेर नेपाली भूमिमा भवन बनाएको समाचारको खण्डन गरेको हो।
चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दावी गरेका छन्। ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ।,’ चीन र नेपाल नजिकको छिमेकी रहेको पनि उनले बताएका छन्।
नेपाल लाईभले मंगलबार हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेको थियो।
लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो। यसअघि दुईवटा भवन अलपत्र रहेको क्षेत्रमा चिनियाँँ पक्षले ९ वटा भवन बनाएको थियो।
म्खा गाउपालिका अध्यक्ष विष्णु लामाले ११ नम्वर पिल्लर पनि हराएको बताएका थिए। उक्त पिल्लर नभेटिँदा भवन निर्माण गरेको क्षेत्र कता हो भनि एकिन नहुने भएकाले भवन बनाउन नमिल्ने बताएका थिए उक्त क्षेत्रमा भवन निर्माण भएकोबारे गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारलाई जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयले यसबारेमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।