काठमाडौं- झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक (भ्याटबिल) प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान विभागले विभिन्न ७ कम्पनीविरुद्ध ३६ करोड ८८ लाख रुपैयाँ बराबरका ३ मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ।
विभागका अनुसार नक्कली भ्याटबिल प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा चितवन जिल्ला भरतपुर महानगरपालिका-२ स्थित सन्तोषी निर्माण सेवा प्रालिका संचालक केशवराज कँडेल समेत ३ जनाउपर ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो मागदावीसहित मुद्दा दर्ता गरिएको छ।
त्यस्तै ललतिपुर महानगरपालिका- १३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राईटर विरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलका प्रोप्रइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका संचालक हर्ष चौधरी समेतले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ बराबरको राजस्व छली गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गरेकै कुसरमा विभागले काठमाडौं महानगरपालिका- ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान व्याग उद्योग, भक्तपुर स्थित ए.पि. ट्रेड एण्ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका संचालक तथा मुख्य कारोवारी राम प्रसाद चौलागाई समेत ३ जनाउपर २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बराबर राजस्व छलीको मुद्दा दायर गरेको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।