काठमाडौं- विदेशमा काम गरिरहेका नेपालीहरुले सम्बन्धित देशमा सञ्चालमा रहेका डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन पाउने भएका छन्। नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउनका लागि राष्ट्र बैंकले बाटो खोलिदिएको हो।
नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ। यस्ता संस्थाहरु उक्त देशको कानुनबमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ।
डिजिटल भुक्तानी उपकरणबाट अन्तर-सीमा कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसारको समयवधिसम्म सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्नेछ।
विदेशबाट विप्रेषकले डिजिटल भुक्तानी सेवादातामार्फत् पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेट वा तोकिएको सीमाभन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्नेछ।
प्रचलित कानुनमा उल्लेखित एएमएल सिएफटीसम्बन्धी व्यवस्थाको परिपालना हुने सुनिश्चितता हुनुपर्नेछ। कारोबार गर्दा विवरण गल्ती भई कारोबार सम्पन्न हुन नसकेको अवस्थामा स्वचालित तबरले रिइम्बुसमेन्ट हुने व्यवस्था मिलाउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।