काठमाडौं- अमेरिकी सर्वोच्च अदालतले चीनिया एपहरु टिकटक र वीच्याटमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश गरेको छ।
सन्देश आदान–प्रदान तथा भुक्तानीका लागि प्रयोग गरिने चिनियाँ एप वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रयासलाई एक न्यायाधीशले कार्यान्वयन नगर्न आदेश गरेको हो।
अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको प्रत्याभूति दिलाएको संविधानकोविपरीत हुने भनेको छ। उक्त प्रतिबन्धले संविधानको पहिलो संशोधनसँग सम्बन्धित विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न भएको उनको आदेशमा उल्लेख छ।
अमेरिकाको वाणिज्य मन्त्रालयले आइतबारबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो। वीच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराएको अमेरिकी आरोप छ।
तर चीन र वीच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन्। वीच्याट बनाउने कम्पनी टेन्सेन्टले यसअघि अमेरिकी प्रतिबन्धलाई ‘दुर्भाग्यपूर्ण’ भनेको थियो।
प्रतिबन्ध गरिने सूचीमा रहेको अर्को चिनियाँ एप टिकटक र अमेरिकी कम्पनी ओरकल अनि वाल्मार्टसँग अमेरिकामा सञ्चालनका लागि सम्झौता भएको केही समयपछि अदालतको त्यस्तो निर्णय आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।