काठमाडौं- दुई दशकभन्दा धेरै समयको अन्तरालमा भन्सार एजेन्ट थप गर्न लागिएको छ। भन्सार विभागले पहिलोपटक परीक्षा लिएर ७०० एजेन्ट थप गर्न लागिएको जनाएको छ।
विभागले परीक्षाका लागि पाठ्यक्रम तयार गरिसकेको छ। भन्सार एजेन्टका रूपमा काम गर्न चाहनेले परीक्षा उत्तिर्ण गरी लाइसेन्स लिनुपर्छ। २०५६ सालपछि भन्सार एजेन्टको नयाँ लाइसेन्स दिइएको छैन।
'भन्सार एजेन्टको परीक्षाका लागि हामीले सम्पूर्ण तयारी पुरा गरेका छौँ,' विभागका महानिर्देशक सुमन दाहालले भने, 'लोकसेवा आयोगको प्राविधिक सहयोग लिएर परीक्षा अघि बढाउछौँ।'
अहिले १८० भन्सार एजेन्टले विभिन्न भन्सारमा सहजीकरणको काम गरिरहेका छन्। यसअघि परीक्षा विना नै एजेन्टको लाइसेन्स दिइएको थियो। उनीहरूले वार्षिकरूपमा त्यसको नवीकरण गर्दै आएका छन्।
वैदेशिक व्यापारको दायरा बढेसँगै भन्सारमा व्यापारिक गतिविधि पनि बढिरहेको र मूल भन्सार कार्यालय पनि थप भइरहेकाले एजेन्ट थप गर्नुपरेको विभागले जनाएको छ। विभागले एजेन्ट छनौट सम्बन्धमा कार्यविधि, पाठ्यक्रम, परीक्षा विधि र एजेन्टको संख्या निर्धारणको काम सकिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।