काठमाडौं- कोभिड- १९ महामारीका कारण सिर्जित समस्याको व्यवस्थापन तथा आर्थिक पुनर्स्थापना र मुलुकको वित्तीय सन्तुलन कायम राखिराख्न विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर (शुक्रबारको विदेशी विनियम दरअनुसार २३ अर्ब ५१ करोड रुपैयाँ) ऋण सहयोग स्वीकृत गरेको छ।
नेपालको वित्तीय अवस्थालाई सन्तुलित र पहुँचयोग्य बनाउन तथा कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणसँगसँगै पुनर्स्थापना कार्यक्रमका लागि सहयोग पुर्याउने उद्देश्ले विश्व बैंकले बिहीबार ‘विकासका लागि वित्त’ (फाइनान्स फर ग्रोथ) शीर्षकमा उक्त ऋण रकम स्वीकृत गरेको हो।
‘महामारीबाट मानिसको ज्यान जोगाउनु र सँगसँगै आर्थिक पुनर्स्थापनाका योजनाहरु कार्यान्वयन गर्नु पनि अहिलेको अवस्थामा उत्तिकै महत्वपूर्ण छ।’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने‚ ‘विश्व बैंकको यो परियोजनाले नेपालको वित्तीय क्षेत्र, पूँजीबजार र बीमालगायत क्षेत्रमा सन्तुलन कायम राख्न र कोभिड १९ महामारीपछिको आर्थिक पुनर्स्थापनाका लागि सहयोग पुर्याउनेछ।’
विश्व बैंकको ‘फाइनान्स फर ग्रोथ’ परियोजनाले बैंक वित्तीय संस्थामा महामारीका कारण सिर्जना हुनसक्ने चुनौतीको व्यवस्थापन, पूँजीबजार, बिमा, भेन्चर क्यापिटल, तथा मौद्रिक र उपभोक्ता बजार व्यवस्थापनका लागि समेत सहयोग पुर्याउने उद्देश्यले नेपाललाई यो ऋण प्रवाह गरेको हो।
त्यस्तै वित्तीय क्षेत्रको प्रभावकारी नियमन र अन्य सुधारका माध्यमबाट न्यून आर्थिक अवस्था भएका परिवार, महिलालगायत पिछडिएको वर्गमा सहज वित्तीय पहुँचका कार्यक्रम, सोअनुरुपका पूर्वाधार निर्माण र वित्तीय साक्षारतामा यो रकम खर्च हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।