काठमाडौं- माछापुच्छ्रे बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले ७.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
सञ्चालक समितिले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि साधारणसभा डाक्न सक्नेछ। साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउन सक्नेछन्। बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर दशैंअघि नै साधारणसभा गर्न सक्नेछ।
यदि बैंकले चाह्यो भने दशैंअगाडि नै शेयरधनीले लाभांश पाउन सक्नेछन्। बैंकले अघिल्लो वर्षको भन्दा ६ प्रतिशतले लाभांश घटाएको छ। अघिल्लो वर्ष बैंकले १६ प्रतिशत लाभांश दिएको थियो।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ। जम्मा १४ प्रतिशत आम्दानी मध्ये १०.४ प्रतिशत लाभांश पाउने भएका हुन्। बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।