काठमाडौं–काठमाडौं महानगरपालिकाले बिहीबार बिहान तिनकुनेस्थित तरकारी बजारमा अनुगमन गरी लुकाएर राखेको अवस्थामा ४२ बोरा प्याज बरामद गरेको छ।
प्याजको मूल्यमा अस्वाभाविक वृद्धि र कालोबजारी बढेको भन्दै बजार अनुगमनमा खटिएको महानगरपालिकाको टोलीले आलुको बोरामा प्याज लुकाएर राखेको भेटेको हो।
‘बढी मूल्य असुल्ने मनसायले आलुको बोलामा प्याज राखेर लुकाएको भेटियो। उलक सब्जी भण्डारको १३ बोरा र विजेष गौतमको २९ बोरा गरी ४२ बोरा प्याज महानगरीय प्रहरी बृत्त बानेश्वरको रोहबरमा सिलबन्दी गरि थप कारबाहीका लागि वाणिज्य विभागलाई जिम्मा दिईएको छ,’ उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले नेपाल लाइभसँग भने।
उक्त तरकारी बजारमा व्यापारीले ६० देखि ६५ रुपैयाँ प्रतिकिलोमा किनेको प्याज १ सय ३० रुपैयाँसम्ममा बेच्ने गरेको पाईएको र खरिद बिक्री बिलबिजक पनि नराखेको तिमल्सिनाले बताए। काठमाडौं महानगरपालिको बुधबार बल्खुस्थित तरकारी बजारमा अनुगमन गरी लुकाएर राखेको २ सय २० बोरा प्याज जफत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।