काठमाडौं- राजस्व परामर्श विकास समितिले काम थालेको छ। बुधबार समितिको पहिलो बैठक बसी नियमावलीको मस्यौदा तयारी, वार्षिक बजेट तथा कार्ययोजना तयार गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि आवश्यक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।
मन्त्रिपरिषदको भदौ १ गतेको बैठकले समितिको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। समितिमा एक सदस्य रिक्त छ। समितिको सदस्य सचिव भन्सार विभागका उपमहानिर्देशक भूमिराम शर्मालाई तोकिएको छ।
समितिलाई राजस्व नीति, कर संरचना र कार्यप्रक्रियाको मूल्यांकन गर्ने, लगानीमैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने जिम्मेवारी दिइएको छ।
यसैगरी अन्तर्राष्ट्रिय कर, करछुट तथा दोहोरो करमुक्ति सम्झौताको अध्ययन एवं विश्लेषण गरी सुझाव दिने जिम्मेवारी पनि तोकिएको छ।
यसैगरी तीन तहका सरकारले लगाएका करको अध्ययन गरी दोहोरोपना आउन नदिन सुझाव दिने, राजस्व सम्बन्धमा भएका अध्ययन अनुसन्धानको विश्लेषण गरी सुझाव पेश गर्ने, नेपाल सरकारको राजस्व सम्बन्धी थिंक ट्यांकको जिम्मेवारी पुरा गर्ने काम पनि समितिले पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।