काठमाडौं- भारतले प्याज निकासीमा बन्देज लगाएको भोलिपल्टै बजारमा मूल्य आकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गरेको छ।
विभागले कालीमाटी तरकारी बजारभित्रका ३ वटा प्याज आयातकर्ता र ३ थोक बिक्रेता गरी ६ व्यवसायीलाई उनीहरुले गरेको कारोबारसँग सम्बन्धित खरिद–बिक्री बिलबिजकसहित ३ दिनभित्र उपस्थित हुन भनेको छ। भारतमा निर्यात प्रतिबन्ध लाग्ने बित्तिकै नेपालमा अस्वभाविक रुपमा मूल्य बढेको र केही व्यापारीहरुले कालोबजारीसमेत गर्न प्याज लुकाएको हुनसक्ने आशंकामा विभागको टोलीले कालीमाटीमा अनुगमन गरेको थियो।
व्यापारीले बुझाएको खरिद बिक्री बिलबिजक हेरेर अस्वभाविक मुल्यवृद्धि देखिए कारबाही गरिने विभागले जनाएको छ।
भारतले प्याज निकासीमा सोमबार बन्देज लगाएपछि मंगलबार कालीमाटी थोक बजारमै प्रतिकिलो १५ रुपैयाँसम्म मूल्य बढेको थियो। थोक बजारमै मूल्य बढेपछि खुद्रा व्यापारीले पनि प्याजको मुल्य दोब्बरसम्म बढाएका छन्। खरिद गरेको मूल्य र बिक्री गरेको मूल्यमा अस्वभाविक वृद्धि देखिए कारबाही गरिने विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।