काठमाडौं- हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय सरकारले गरेको छ।
डा खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
संसद् सदस्य नभएको अवस्थामा नै अर्थमन्त्री बनेका डा युवराज खतिवडा ६ महिनाभन्दा बढी अवधि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण भदौ २० गतेबाट जिम्मेवारीमुक्त हुने भएपछि त्यसअघि नै उनले राजीनामा दिएका थिए।
सोमबारकै बैठकले सरकारले असोज १ गतेबाट नै आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।
मन्त्री ज्ञवाली सरकारका प्रवक्ताका रूपमा आयोजना भएको मंगलबारको पत्रकार सम्मेलन पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।