काठमाडौं- एसियाली विकास बैंक (एडिबी) ले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर यसवर्ष २.३ प्रतिशत रहने र अर्को वर्ष घटेर १.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ।
एडिबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार नेपालको जिडिपी वृद्धिदर २०२० मा २.३ प्रतिशत र २०२१ मा १.५ प्रतिशत प्रक्षेपण गरिएको छ। उक्त रिपोर्टअनुसार पछिल्लो २ वर्ष अर्थात सन २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो।
कोभिड- १९ महामारीका कारण यसवर्ष दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण एडिबीको छ। सन २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा खस्किने देखिएको छ। यसवर्ष माल्दिभ्सको जिडिपी २०.५ प्रतिशत ऋणात्मक रहने देखिएको छ। त्यस्तै, भारतको वृद्धिदर ९, श्रीलंकाको वृद्धिदर ५.५, अफगानस्थानको वृद्धिदर ५ र पाकिस्तानको ०.४ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरिएको छ।
दक्षिण एसियाका तीन मुलुक बंगलादेश, भुटान र नेपालको आर्थिक वृद्धिदर गतवर्षको तुलनामा घटेपनि ऋणात्मक भने हुनेछैन। यी मुलुकको वृद्धिदर क्रमशः ५.२, २.४ र २.३ प्रतिशत रहनेछ। सन २०२० मा बंगलादेशको आर्थिक वृद्धिदर एसियाका सबै मुलुकको भन्दा बढी रहने प्रक्षेपण पनि एडिबीको छ।
एसिया महाद्विपमा पछिल्लो ६ दशक यताकै न्युन आर्थिक वृद्धिदर रहने ठानिएको छ। सन १९६० पछि पहिलोपटक एसियाको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको एडिबीको रिपोर्टमा उल्लेख छ। कच्चा पेट्रोलियम पदार्थको मुल्यमा घट्दोक्रम र अरु वस्तुको पनि उपभोगमा कमि आएपछि घट्ने बजार मागका कारण यसवर्ष एसियामा २.९ प्रतिशत र २०२१ मा २.३ प्रतिशतको मुद्रास्फीति रहने आंकलन पनि एडिबीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।