काठमाडौं-कर्मचारी सञ्चयकोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा एक खर्ब ७ अर्ब रुपैयाँ बचतको रुपमा राखेको छ। यो तथ्यांक आर्थिक वर्ष २०७६/७७ असार मसान्तको हो। आर्थिक वर्ष २०७५/७६ मा ७८ अर्ब ७९ करोड रुपैयाँ थियो। कोषको जम्मा रकमको २८ प्रतिशत बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा जम्मा भएको बसेको छ।
कोषले नयाँ परियोजनामा लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर राख्नु परेको हो। कोषले सञ्चयकर्ताहरुलाई एक अर्ब ८१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ। शेयर बजारमा मात्रै २१ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कोषले शेयर बजारमा २२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको थियो।
कोषले सञ्चयकर्ताको तीन खर्ब ५० अर्ब रुपैयाँ जम्मा गरेर राखेको छ। यो कोषको दायित्व हो। अघिल्लो आर्थिक वर्षमा कोषले यस्तो रकम तीन खर्ब ९ अर्ब रुपैयाँ जम्मा गरेको थियो। एक वर्षको अवधिमा कोषले सञ्चयकर्ताबाट प्राप्त हुने कोष १३.२६ प्रतिशतले बढाएको छ।
त्यस्तै गत वर्षदेखि सञ्चालनमा ल्याइएको निवृत्तिभरण कोषमा ४७ करोड ३१ लाख रुपैयाँ जम्मा गरेको छ। कोषको जगेडा कोषमा ३० अर्ब ७५ करोड रुपैयाँ जम्मा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।