काठमाडौं–कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमा प्रतिकेजी १५ रुपैयाँले बढेको छ। सोमबार थोक बजारमा प्रतिकेजी औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी १५ रुपैयाँले बढेको छ।
मंगलबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेर औसतमा ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ।
केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार एक्कासी १५ रुपैयाँले बढेको हो।
सामान्य अवस्थामा खुद्रा बजारमै प्याजको मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार भइरहेको थियो। अब थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी ७५ पुगेपछि खुद्रा बजारमा ९० देखि १ सय रुपैयाँसम्म पुग्ने भएको छ।
भारतबाट केही दिनदेखि प्याज आयात कम हँदै जाँदा प्याजको मूल्य बढिरहेको थियो। सोमबारमात्रै भारतले तत्काल कुनै पनि देशमा प्याज निर्यात निर्यात नगर्ने गरी प्रतिबन्ध लगाएको छ। अब त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने छ।
गत वर्ष पनि भारतले कात्तिकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो।
नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट नै आउने गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।