काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन इंग्लिस क्लब इभर्टन गएका जेम्स रोड्रिगेजले आइतबार राति पहिलो खेल खेले। जसमा इभर्टनले टोटनह्यामलाई १-० ले हरायो।
रोड्रिगेजले टोटनह्यामविरुद्धको खेलमा गोलका पाँच अवसरहरु सिर्जना गरेका थिए, जुन मैदानमा रहेका सबै खेलाडीको भन्दा बढी हो। विपक्षी टिमले बल बढाउँदा महत्वपूर्ण चार पटकको अवरोध, १२ पटक दिएको लामो पासमा ११ पास सही स्थानमा, सफल ड्रिबल्स, विशेष गरी ७४ पटक बलमा नियन्त्रण जस्ता हरेक विषयले रोड्रिगेजको पहिलो खेल सफल रह्यो।
क्लबले युवा खेलाडी किन्न चाहिरहँदा इभर्टन प्रशिक्षक कार्लो एन्सेलोटीले जे सोचेर रोड्रिगेज लगेका थिए, त्यसमा उनी पहिलो खेलमा सफल देखिए। रियल मड्रिडमा रहँदा आफ्नो उपयुक्त स्थानमा खेल्न नपाएका रोड्रिगेजले प्रशिक्षक जिनेदिने जिदानको विश्वास जित्न सकेका थिएनन्। तर इभर्टनमा प्रशिक्षकको विश्वासले समेत उनमा उर्जा मिल्यो।
हुन त यो सिजनको पहिलो खेल मात्र हो, तर पनि टोटनह्याममा जुन तालमेलको कमि देखियो त्यसलाई अवसर बनाएर दबाब दिन इभर्टन पछि परेन। यसले आउँदो खेलहरुमा इभर्टनका लागि थप उर्जा मिल्ने नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।